घोराही, २८-असार।  दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतीष्ठानमा निःशुल्क डाइलासिस सेवा सन्चालनमा आएको छ । यसअघिको प्रतिष्ठानको नेतृत्वको डाइलासिस सेवा आउट सोर्सिङबाट चलाएकोमा खासै सेवा प्रभावकारी हुन नसकेको जन गुनासो आएपछि प्रतिष्ठानको वर्तमान नेतृत्व उपकुलपती डा. बिकास लामीछानेले गुनासोलाई सम्बोधन गर्दै कम्पनिलाई हटाउदै प्रतिष्ठानले सबै आफै हेर्ने गरि डाइलासीस सेवा प्रत्यक्ष जिम्मेवारी लिएको हो ।

किड्निका बिरामीलाई निःशुल्क डाइलाशिस सेवा प्रतिष्ठानले दिएपछि बिरामीहरु खुसी भएका छन । अहिले प्रतिष्ठानमा ६ वटा डाइलाशिस मेसिन सञ्चालनमा आएको छ । प्रतिष्ठानकी डाइलाशिस इन्चार्ज झरणा पुलामी भण्डारीका अनुसार ती मेसिनबाट २४ जनाले डाइलाशिस सेवा पाईरहेका छन ।

उनले एक सिफ्टमा ४ देखि ५ जनाले डाइलाशीस सेवा पाउने जानकारी दिइन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफै निःशुल्क डाइलाशिस सेवा सन्चालनमा ल्याएपछि सेवा अत्यन्तै प्रभावकारी भएको र केही मेसिन थप्ने पहल भइरहेको उपकुलपती लामीछानेले बताए ।

केहि दिन अघि प्रतिष्ठानको अबलोकनमा आएका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई मेसिन थपिदिनका लागि पहल गरिदिन उपकुलपति लामीछाने र रजिस्ट्रार प्रकाश थापाले आग्रह गरेका थिए । राज्यमन्त्री केसीले प्रतिष्ठानलाई बजेटको चिन्ता नलिन र ४ सय बेडको अत्याधुनिक भवनसहित मेडिकल कलेज बन्ने भनिएको जग्गामा पुर्बाधार बनाउने बजेट आउने बिश्वास दिलाए ।

उनले आफ्नो कार्यकालमा दाङको स्वास्थ्य क्षेत्रको विकासका मरिमेट्ने भन्दै पाँच वर्षमा हुन नसकेको काम पाँच महिनामा गरेर देखाइदिने बताए । रजिस्ट्रार थापाले राज्यमन्त्री केसीकै पहलमा प्रतिष्ठानमा ७ वटा डाइलाशिस मेसिन थपिन लागेको जानकारी दिए । उनले मेसिन थपिए प्रतिष्ठानले २४ सै घण्टा निशुल्करुपमा डाइलाशीस सेवा दिने बताए ।