Ad Area

११ प्रतिशतभन्दा बढी चालकमा कलरभिजनको समस्या


 घोराही, ११ साउन । लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनका चालकहरुको आँखा जाँच गर्दा ११ प्रतिशतभन्दा बढी चालकहरुमा कलरभिजनको समस्या देखा परेको छ ।
बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरी कार्यालय, दाङले सडकमै चालकको आँखा जाँच अभियान गर्दा अधिकांश चालकमा कलरभिजनको समस्या देखा परेको छ । यो समस्या भएका चालकहरुले अगाडिको सवारी साधनले संकेत बत्ती बाल्दा वा साईड दिँदा सामान्यता चालकले नदेख्ने हुन्छ । आँखा जाँच गर्दा ती चालकहरुमा कलरभिजनको समस्या देखिएको छ ।
आँखाको स्वास्थ्य ठीक भएमात्रै चालकले सवारी साधन सही रुपमा चलाउन सक्ने र दुर्घटना हुनबाट जोगिने भन्दै आईतबारदेखि आजसम्म लमहीमा गरिएको आँखाको स्वास्थ्य परिक्षण अभियानमा लामो तथा छोटो दुरीका ३ सय ९ जना सवारी चालकको आँखा र रक्तचाप परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झबिन्द्र परियारले बताउनुभयो । तीमध्ये ३४ जनामा आँखाको समस्या देखिएको छ । ट्राफिक नियम अनुसार कलरभिजनको समस्या भएका चालकहरुको सवारी चालक अनुमति पत्र रद्द हुने प्रावधान छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र लमही आँखा अस्पतालको संयुक्त आयोजनामा भएको आँखा जाँच शिविरमा आईतबार १ सय ४ जनाको परिक्षण गरिएकोमा १२ जनामा कलरभिजन र १० जनामा उच्च रक्तचापको समस्या देखिएको थियो । सोमबार १ सय २५ जना चालकको परिक्षण गर्दा १३ जनाको कलरभिजन र ९ जनामा उच्च रक्तचापको समस्या देखिएको थियो । यस्तै, मंगलबार ८० जना चालकको परिक्षण गरिएकोमा ९ जनामा कलरभिजन र ६ जनामा उच्च रक्तचापको समस्या देखा परेको छ ।
अभियानको अन्तिम दिन आज रात्रिबस चालकहरुको मात्रै आँखा तथा रक्तचाप परिक्षण गरिएको थियो । जसमा कलरभिजन कमजोर भएका चालक पनि भेटिएका अस्थायी प्रहरी पोष्ट लमहीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक बिक्रम बिकले जानकारी दिनुभयो । चालकको लापरवाहीका कारण हुने दुर्घटना रोक्न सडकमै सवारी रोकेर आँखा परीक्षण गर्न थालेपछि चालकहरुले यसको लाभ लिँदै आँखा सुरक्षामा गम्भीर बन्ने प्रतिवद्धता पनि जनाएका छन् ।
आफ्नो स्वास्थ्यतर्फ ध्यान नदिने गरेको र बिहानदेखि रातीसम्म सवारी चलाउँदा दुर्घटना हुने भएकाले अभियान शुुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख परियारको भनाई छ । लमहीबाट शुरु भएको यो अभियान बिस्तारै जिल्लाभर गरिने ट्राफिक प्रहरीको भनाई छ ।
Blog Post Ad Blog Post Ad