Ad Area

खानी क्षेत्रबाट चुनढुंगा ढुवानी गर्न दिने बंगलाचुलीको निर्णय


घोराही, १३  साउन । बंगलाचुली गाउँपालिकाले आफ्नो पालिका क्षेत्रबाट चुनढुंगा ढुवानीका लागि टिपर संचालन गर्न अनुमति प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष तुलसीराम पुन र उपाध्यक्ष भक्तबहादुर जिसीले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बंगलाचुली गाउँपालिकामा रहेका सिमेन्ट उद्योगहरुका खानी र टिपरहरु विगत लामो समय देखि बन्द रहेकोमा यसअघि भएको सहमति र सम्झौताका अधिकांश बुँदा कार्यान्वयन भएको भन्दै खानी क्षेत्रबाट चुनढुंगा ढुवानी गर्न अनुमति दिएको जनाउनुभएको छ।

यस्तै, साउन १० गते बसेको सर्वदलीय बैठकको निर्णय समेतलाई मध्यनजर राख्दै सिमेन्ट उद्योगहरुले विगतमा गरेका प्रतिवद्धता अनुसार घोराही सिमेन्ट, सम्राट सिमेन्ट र सोनापुर उद्योगले घोराही देखि तापा चोक र हनक देखि स्युजा सम्मको बाटो मर्मतको काम गरेको घोराही सिमेन्ट र सम्राट सिमेन्टले तापाचोक देखि मटनेटा सम्मको सडकमा पिचको लागि बेस हालिसकेको सम्राट सिमेन्टले आफ्नो जिम्मा मा परेको १ किलोमीटर सडक कालोपत्रे र मोडमा आरसिसीको काम सम्पन्न गरेको, घोराही सिमेन्टले मोडहरुमा आरसीसीको काम गरिरहेको केही सामग्री तथा उपकरणहरु जुटाईरहे पनि आफ्नो भागमा परेको कालोपत्रेको काम अझैसम्म पनि सम्पन्न नभएको देखिएकोले आजको मिति देखि लागुहुनेगरी सोनापुर सिमेन्ट र सम्राट सिमेन्ट उद्योगलाई शर्तहरु पालना गर्नेगरी सिमित मात्रामा खानिका कच्चा पदार्थ चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरु संचालन हुन दिने सबैमा जानकारी गराउँदछौं, विज्ञप्तिमा भनिएको छ ।

तर, गाउँपालिकाले चुनढुंगा ढुवानी गर्दा टिप्परहरुको गति सिमित गर्ने, हर्न निषेध गर्ने, एकले अर्कोलाई उछिन्न नहुने, पैदल यात्री, मोटरसाईकल, कार, जीपलगायत सावर्जनिक सवारी साधनहरुलाई अवरोध नहुने गरी टिप्पर चलाउनु पर्ने जनाएको छ । उद्योगले टिप्पर संचालन हुने सडकको नियमितरुपमा मर्मत गर्नुपर्ने उल्लेख गरेको छ । विहान ९-११ र साँझ ३-५ बजेको समयमा खानिका टिप्परहरु यथास्थानमा रोकी नचलाउन भनिएको छ ।

सवारी चालक अनुमति पत्र बिना सवारी साधन नचलाउन तथा सिमेन्ट उद्योगहरुले तापाचोक देखि खानी क्षेत्र सम्मको सड़क खण्डमा फुटपाथ निर्माण गर्न भनिएको छ। धुलो उड्ने सडक खण्डहरुमा नियमितरुपमा उद्योग आफैले पानि चाहार्नु पर्ने, वैकल्पीक सडक निर्माण गर्न उद्योगले गाउँपालिका संग सहकार्य गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

उद्योगले गाउँपालिकासँग यसअघि गरेका सम्पूर्ण सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने, साथै घोराही सिमेन्ट उद्योगको हकमा अधुरो रहेको काम पूरा गर्ने समयसिमा सहित विश्वास योग्य प्रतिवद्धता, विभिन्न समयमा विभिन्न पक्षसँग गरेका सम्झौताहरु कार्यान्वयन गर्न र तापा खानि क्षेत्रमा कार्यरत श्रमीकहरुको समस्या समाधान सहित आएमा पूर्व निर्णयको बारेमा छलफल गर्न सकिने पनि विज्ञप्तिमा जनाईएको छ । सो क्षेत्रबाट ठूलो संख्यामा रहेका टिपरले चुनढुंगा ढुवानी गर्दा करोडौँ खर्च गरेर निर्माण गरिएको कालोपत्रे सडक क्षतविक्षत हुनुका साथै वातावरण पनि प्रदुषित भएपछि स्थानीयबासी, गाउँपालिकालगायत सरोकारवालाले टिपर संचालनमा रोक लगाएका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad