Ad Area

गर्नुपर्ने विकास निर्माणका बिषयमा जानकारी गराउनुस्ः राज्यमन्त्री श्रेष्ठ


दाङ, ४ कात्तिक ।

लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले स्थानीय स्तरमा गर्नु पर्ने विकास निर्माण र समस्याका बारेमा जानकारी गराउन सबैमा अपिल गरेका छन् । नागरिकको जनजीवन सहज बनाउन समृद्धि आवश्यक रहेको बताउँदै उनले आफ्नो क्षेत्रमा भएका समस्यालाई बेलैमा जानकारी गराउन आग्रह गरेका हुन् ।

बिहीबार घोराही उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले घोराहीको विकास निर्माण, यहाँको समस्या तथा गर्नु पर्ने कामका बारेमा धेरै विषयसँग आफु जानकार रहेको भएपनि प्राथमिकताका आधारमा गर्नुपर्ने कामलाई थालनी गर्न सबैको सहयोग चाहिने बताए ।

यद्यपि, आफु सांसद रहेको बेलामा पनि हिजोका दिनमा समस्याका बारेमा कोही कसैले समन्वय नगरेको गुनासो गरे । बजार क्षेत्रमा गरिने विकासका काम अन्य स्थानमा भन्दा केही कठिन हुने हुँदा यसमा सहजीकरण गरिदिन टोलविकास संस्थाहरुलाई उनको आग्रह थियो । साविक राप्तीको प्रमुख केन्द्रसमेत रहेको घोराहीलाई नमूना बजारका रुपमा विकास गर्न खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरालाई आफुले उच्च प्राथमिकतामा राखेको बताए ।

सो अवसरमा राज्यमन्त्री श्रेष्ठले कटुवा खोला र सेवार खोलामा बाढीले पार्ने असर काम गर्न दीर्घकालीन रुपमा समाधान गर्न सकिने गरी तटबन्धको काममा बजेट सुनिश्चित गर्ने प्रतिवद्धता जनाए ।

यसैगरी, लखनपार्कको सौन्दर्यता बढाउन थप बजेट सुनिश्चित गर्ने, वडा कार्यालयहुँदै लखन पार्कसम्मको सडकलाई ग्रीन बेल्टका रुपमा विकास गर्ने, झिँगौरास्थित मनकामना सामुदायिक वनमा रहेको पार्कको स्तर वृद्धि गर्ने, स्वास्थ्यको पूर्वाधार विकासका लागि अन्तर मन्त्रालयसँग समन्वय गर्ने वचन दिएका छन् ।

Blog Post Ad

स्वागत सम्मान कार्यक्रममा वडा अध्यक्ष शक्तिराम डाँगीले राज्यमन्त्री श्रेष्ठ स्थानीय भएको हुँदा पनि यस क्षेत्रको विकासमा उहाँको ध्यान बढी केन्द्रित हुनेमा वडाबासीले अपेक्षा गरेको बताए । वडामा हालसम्म भएका काम र गर्नुपर्ने काम र प्राथमिकतामा क्षेत्र बारे राज्यमन्त्री श्रेष्ठसमक्ष वडा अध्यक्ष डाँगीले अवगत गराएका थिए । उक्त कार्यक्रममा स्थानीय टोलविकास संस्थाका प्रतिनिधि, वडाबासी, राजनीतिक दलका प्रतिनिधिलगायत उपस्थित थिए । कार्यक्रमको सहजीकरण वडा सदस्य गुलाम रसुलले गरेका थिए ।

Blog Post Ad Blog Post Ad