Ad Area

दुर्गानारायण वक्तृत्वकलामा गोरखा माविकी डिसी प्रथम


घोराही, १ भदौ । त्रिभुवन नगर जेसीजले आयोजना गरेको दुर्गानारायण वक्तृत्वकला प्रतियोगितामा गोरखा माविका दीपिका डिसी प्रथम हुनुभएको छ । ‘परिवर्तनका लागि एकता’ शीर्षकमा बुधबार आयोजित मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा सोही विद्यालयकै उत्सव घिमिरे द्वितीय हुनुभएको छ । गोरखा माविले यसअघि पनि प्रथम स्थान हासिल गर्दै शिल्ड जितेको थियो ।

यस्तै, माउन्टभ्यु स्कुलकी रिया भुसाल तृतीय र दीपशिखा माविकी स्तुति योगी सान्त्वना हुनुभएको आयोजक त्रिभुवननगर जेसीजले जनाएको छ । विजेताहरुलाई प्रमाण पत्र र शिल्डसहित सम्मान गरिएको छ । जिल्लाभरका १३ वटा विद्यालयबाट २५ जना सहभागी भएको प्रतियोगिताको निर्णायक डा. कृष्णराज डिसी, निशान्त आचार्य, दुर्गालाल केसी रहनुभएको थियो ।

जेसीजले मावि स्तरीय दुर्गानारायण वक्तृत्वकला सन् १९९९ देखि संचालन गर्दै आएको छ । जेसीजका कार्यवाहक अध्यक्ष मुकेश्वर शर्माको अध्यक्षता तथा नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति यादवप्रसाद लामिछानेको प्रमुख आतिथ्य एवम् घोराही उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख राममणि पाण्डेको विशिष्ट आतिथ्यमा कार्यक्रम गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथि लामिछानेले भोलिको समाज र राष्ट्रलाई हाँक्ने आजका युवामा गतिशीलता र सचेतना आवश्यक रहेका हुँदा सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाज र राष्ट्रलाई हाँक्ने आजका युवामा गतिशीलता र सचेतना आवश्यक छ, आज मैले सबै विद्यार्थीका विचार र भावना बुझ्ने मौका पाएँ, यसले उनीहरुमा भोलिको समाज र नेपालको चित्र देखिन्छ ।’

वक्तृत्वकला प्रतियोगितामा सहभागी भएका वक्ताहरुले पनि अहिलेको समाजको गति र भोलिको दृष्यलाई मुल्यांकन गर्दै दिगो विकासको साझा अवधारणा प्रस्तुत गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । सबैका विचार र भनाईको मुल सार नेपालको दीगो विकासमा युवाको नवीन विचार अटाउनु पर्छ भन्ने मान्यताको सन्देश दिएको बताउनुभयो ।

नेपाली समाज, सांस्कृतिक, राजनीतिक रुपान्तरणमा युवा आवाजको योगदान रहने हुँदा यस प्रकारको कार्यक्रमले समाजको गतिलाई सही बाटोमा हिँडाउन सहयोग पुग्ने विश्वास व्यक्त गनुृभयो । ‘नेपाली समाज, सांस्कृतिक, राजनीतिक रुपान्तरणमा अब युवा आवाजको खाँचो छ भन्ने कुरा पनि मैले स्पष्ट रुपमा बुझेँ, यसले घैँटामा घाम लागेको भने जस्तै भएको छ,’ उहाँले भन्नुभयो, ‘वास्तवमा युवा विचार विशुद्ध चेतनमनको प्रतिबिम्ब पनि हो ।’

Blog Post Ad

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतम, रेडक्रस सोसाईटी घोराही शाखा अध्यक्ष थमन चौधरी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेलगायत उपस्थित हुनुभएको थियो । कार्यक्रमको सहजीकरण त्रिभुवननगर जेसीजका महासचिव कुलबहादुर वलीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad