घोराहीमा कृष्ण जन्माष्टमी महोत्सव सम्पन्न

घोराही, ३ भदौ । हिन्दु धर्मावलम्बीहरुको पर्व श्री कृष्ण जन्माष्टमीको अवसरमा नेपाल मानव भर्म सेवा समिति घोराहीले शुक्रबार कृष्ण जन्माष्टमी महोत्सव सम्पन्न गरेको छ । नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती क्षेत्र प्रभारी महात्मा चाँदनी वाइजीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी भक्ति साधनाका साथ कृष्ण पूजन र प्रवचन पनि गरिएको थियो ।
प्रमुख अतिथि रेग्मीले समाजमा बढ्दो भोगविलासका कारण मानिसमा धर्म, संस्कार, संस्कृति कमजोर बन्दै गएको बेला यस प्रकारका पर्वहरुले मानिसमा भक्तिभाव पैदा गर्ने हुँदा धार्मिक तथा सांस्कृतिक संरक्षणमा सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भौतिकवादमा लिप्त हुँदै गएको समाजमा मानवता हराउँदै जान थालेको भन्दै अभिभावकले आफ्ना बालबालिकालाई हसल संस्कार र शिक्षा दिन बढी ध्यान दिनुपर्ने बेला आएको नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती क्षेत्रका उपाध्यक्ष तेजनारायण कँडेलले बताउनुभयो । भक्तिसाधनासहितको भजनकीर्तनमा जिल्लाका विभिन्न स्थानबाट सहभागीता जनाउनुभएको थियो ।
बालबालिकालाई कृष्ण जन्माष्टमीका दिन राधा र कृष्ण बनाएर सजाए सरह उनीहरुको जीवनमा पनि राधा कृष्ण बन्न सक्ने गरी असल संस्कार र ज्ञान दिनुपर्ने नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती क्षेत्रका प्रचारिका चन्द्रकान्ता वाइजीले प्रवचन दिनुभयो ।
समारोहमा हिन्दु विद्यापीठ नेपालका शिक्षक पिताम्बर रिजाललगायतले भनाई राख्नुभएको थियो । जन्माष्टमी महोत्सवमा हिन्दुविद्यापीठका अस्मिता वली, सब्रिना थापा, नेपाल मानव धर्म सेवा समिति तुलसीपुर शाखाका आरोही र नित्यालगायतले नृत्य प्रस्तुत गरेका थिए । ज्योतिष डमरुप्रसाद निरौलाको स्वागत मन्तव्यबाट शुरुभएको समारोहको सहजीकरण सिन्धु रिजालले गर्नुभएको थियो ।