Ad Area

पुल निर्माणमा चरम ढिला सुस्ती, ६ बर्ष पुरा हुँदापनि बनेन


दाङ, ८ भदौ । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण दाङमा २६ महिनामा बन्नुपर्ने पुल ६ बर्ष बढी समय बितिसक्दा समेत निर्माण पूरा हुन सकेको छैन । ग्रामीण सडकअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१५ को कोठरी–डुरुवा जोड्ने हापुर खोला पुल २०७५ साल बैशाख १८ गते सक्नेगरी २०७३ पुसको १९ गते सूर्य कन्स्ट्रक्सन प्रालि सुर्खेतसँग करिब १३ करोड रुपैयाँमा सम्झौता भएको थियो ।

तर निर्माण व्यवसायीको चरम लापरबाहीका कारण चार बर्षअघि निर्माण सक्नुपर्ने पुल अझैसम्म सकिएको छैन । पुल निर्माणका लागि तीन पटक म्याद थप भैसक्दा समेत पुल निर्माणको काम पूरा हुन नसकेपछि सडक डिभिजन कार्यालय दाङले चौथो पटक गत असारमा पुनः म्याद थप गरेको कार्यालयका सूचना अधिकारी इञ्जिनियर अमिर सुवेदीले जानकारी दिएका छन् ।

समयमा काम गरेको भए करिब २६ महिनामा सकिनुपर्ने भए पनि निर्माण व्यवसायीको लापरबाही कारण सम्झौता भएको ६ बर्ष बढी समय भैसक्दा समेत निर्माणको काम नसकिएको बताए । ‘निर्माण व्यवसायीले इमान्दारितापूर्वक समयमै काम गरेको भए २०७५ को चैत महिनामा पुल निर्माण भैसक्थ्यो’, सूचना अधिकारी सुवेदीले भने– ‘तर निर्माण व्यवसायीले अनेकन बहाना बनाउँदै पुल निर्माण ढिलाई गर्दै आएकाले सम्झौता भएको साढे ६ बर्ष भैसक्दा पनि पुल निर्माणको काम पूरा हुन सकेको छैन ।’

सूचना अधिकारी सुवेदीका अनुसार पुलको सुपरस्ट्रक्चर निर्माणको काम सकिएको छ तर सव–स्ट्रक्चर निर्माणको काम हुन सकेको छैन । ‘पुलको अहिलेसम्म पिलर निर्माणको काम सकिएको छ । अब माथिको भाग बनाउन बाँकी छ’, सूचना अधिकारी सुवेदीले भने– ‘म्याद थपिएको समयमा राम्रोसँग गरेको भए त्यो पनि सकिने थियो । तर महंगीको बहना बनाएर काम नगर्दा गत बर्ष सकिनुपर्ने काम फेरि सकिएन ।’ सूचना अधिकारी सुवेदीले अन्तिमपटक पुल निर्माणका लागि तेस्रो पटक एक बर्षका लागि म्याद थप गरेको बताए । उनका अनुसार २०८० साल असार मसान्तभित्र निर्माण व्यवसायीले पुल निर्माणको काम सक्नुपर्ने बताएपछि एक बर्षको लागि म्याद थप गरिएको बताए ।

सुरुमा पुल निर्माणका क्रममा निर्माण व्यवसायीले जग्गा विवाद र कोरोना संक्रमणको बहाना बनाउँदै पटक–पटक काममा ढिलाई गर्ने गर्दा समयमा पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । पुल निर्माणमा व्यवसायीले ढिला गरेको र छिटोभन्दा छिटो काम सक्नुपर्ने भन्दै पटक–पटक व्यवसायीलाई सूचना प्रकाशित गरेर ताकेता गरे पनि निर्माण व्यवसायीले बेवास्ता गरेर काममा ढिलाई गर्दा लामो समय पुल निर्माण हुन नसकेको सूचना अधिकारी सुवेदीले बताएका छन् ।

कार्यालयका अनुसार हालसम्म उक्त पुलको प्रगति ५० प्रतिशत भएको छ । पुल निर्माणका लागि १३ करोडमा ठेक्का लिए पनि पछिल्लो समय आफू घाटामा परेको भन्दै निर्माण व्यवसायीले काममा ढिलाई गर्दा पुल निर्माण अलपत्र परेको सूचना अधिकारी सुवेदीले बताए । ‘६ वर्ष अगाडि निर्माण व्यवसायीले १३ करोडमा ठेक्का लिएको थियो । समयमा काम नगरेर बीचमा केही समय काम छोडेर निर्माण व्यवसायी भागेको थियो । पछि फेरि सम्पर्कमा आएर काम सुरु गरेको हो’, सूचना अधिकारी सुवेदीले भने– ‘ठेक्का तोडेर अरुलाई दिँदा पुल निर्माणमा थप ढिलाई हुने भएकाले पुनः म्याद थप गरेका छौँ ।’

Blog Post Ad

काममा ढिलाई गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाउने सम्बन्धित निकायको अधिकार भए पनि कारबार्ही प्रक्रिया अघि बढाउँदा काममा थप ढिलाई हुने भएकाले निर्माण व्यवसायीलाई फकाएर काममा लगाउनुपर्ने बाध्यता रहेको सूचना अधिकारी सुवेदीले बताएका छन् ।

Blog Post Ad Blog Post Ad