Ad Area

प्रजनन् स्वास्थ्यमा बजेट सुनिश्चित गर्ने प्रतिवद्धता


घोराही, ८ भदौ । यौन तथा प्रजनन् स्वास्थ्य सुरक्षा र अधिकारको विषयलाई सबैले गम्भिरतापूर्वक लिनुपर्ने लुम्बिनी प्रदेशका परिवार कल्याण तथा स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले बताउनुभएको छ ।

नेपालको आयोजना तथा जिल्ला शाखा दाङको आतिथ्यतामा घोराहीमा आयोजित प्रदेश स्तरीय परिवार योजना, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि प्रदेश स्तरीय पैरवी कार्यशाला गोष्ठीमा प्रमुख अतिथि थारुले असुरक्षित गर्भपतन र औषधी सेवनले प्रजनन् स्वास्थ्यमा गम्भिर असर गर्ने भएकाले यस्ता क्रियाकलाप गर्दा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेश स्तरमा स्वास्थ्य क्षेत्रमा धेरै काम भएको बताउँदै उहाँले स्थानीय सरकार, परिवार नियोजन संघ तथा अरु सरोकार निकायसँग समन्वय गरेर काम गर्ने गरिएकाले स्वास्थ्यको सूचकांक अरु प्रदेशभन्दा राम्रो रहेको बताउनुभयो ।

कोरोना महामारीमा पनि लुम्बिनी प्रदेश सरकारले नागरिकको जीउधनको सुरक्षाका लागि धेरै खालका कार्यक्रम गरेर सरकारको अनुभूति दिलाएको बताउँदै अबका दिनमा समुदाय स्तरमा यौन तथा प्रजनन् स्वास्थ्य जनचेतना फैलाउनु पर्ने बताउनुभयो । यसका लागि लुम्बिनी प्रदेश सरकार नीतिगत रुपमा प्रतिवद्ध रहेको र आवश्यक बजेट व्यवस्थापन गर्न पछि नहट्ने वचन दिनुभयो । उहाँले प्रजनन् स्वास्थ्य क्षेत्रमा हुने गरेका समस्यालाई समाधान गर्न स्थानीय, प्रदेश र संघिय सरकारले पनि महत्वका साथ लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सबैको पहुँच पुर्याउन लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेश स्तरीय पैरवी कार्यशाला गोष्ठीमा सहभागी मन्त्रीदेखि स्थानीय सरकारका जनप्रतिनिधिले प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

सो अवसरमा, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री थारु, प्रदेश सभा सदस्य दामा शर्मा, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाकि उपप्रमख हुमा डिसी, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउत, स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीलगायतले प्रतिवद्धता जनाउनुभएको छ ।

Blog Post Ad

लुम्बिनी प्रदेशका प्रजनन उमेर समहका सबै व्यक्तिहरु, विशेषगरी सिमान्तकृत र जोखिममा परेका समुदायका सबैमा गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा र सूचनाको पहुँच पर्याई विद्यमान शिशु, बाल तथा मातृ मृत्युदरलाई उल्लेख्य रुपमा घटाउन र परिवार नियोजनको आधुनिक साधनको अपरीपूर्त मागलाई पूरा गर्न प्रतिवद्धता जनाउँदै परिवार नियोजन र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा लुम्बिनी प्रदेशलाई आवश्यक पर्ने बजेट विनियोजन गर्न आवश्यक पहल गर्ने भन्दै प्रतिवद्धता जनाउनुभएको हो ।

लुम्बिनी प्रदेशका यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि नीतिहरुको तर्जुमा र परिमार्जन गरि अझ व्यवहारिक रुपमा कार्यान्वयनको सुनिश्चितता गराउने आफ्नो प्रतिवद्धता रहेको पनि उनीहरुको अठोट छ । नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कशजुको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका स्वास्थ्य सचिव विकास देवकोटालगायतले बोल्नुभएको थियो । केन्द्रीय उपाध्यक्ष निर्मला गौतमको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा विषय बारे जानकारी केन्द्रका कार्यकारी निर्देशक नरेशप्रताप केसीले गराउनुभएको थियो । नेपालमा मातृमृत्यु दर सन् २००० मा ५५३ रहेकोमा सन् २०१७ मा घटेर १८६ मा झरेको भएपनि यो अझै चुनौतिको रुपमा रहेको औँल्याईएको छ ।

यस्तै, परिवार नियोजन सम्बन्धि नेपालको अवस्था श्रोत परिचालन तथा परामर्शदाता सुभाषचन्द्र श्रेष्ठ र नेपाल परिवार नियोजन संघका कार्यक्रम अधिकृत जमुना सिटौलाले तथा लुम्बिनी प्रदेशको परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी प्रदेश निर्देशनालयका कौशल भण्डारीले गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ दाङकी सचिव माया पोख्रेलले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad