Ad Area

अनेम संघ दाङको बिस्तारित बैठक एवम् प्रशिक्षण सम्पन्न, १४१ सदस्यीय युवा कमिटी गठन


घोराही, ८ भदौ । अखिल नेपाल महिला संघ दाङको बिस्तारित बैठक एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम अनेम संघकी जिल्ला अध्यक्ष हुमा डिसीको अध्यक्षता तथा संगठनकी केन्द्रीय सचिव सुजिता शाक्यको प्रमुख आतिथ्यमा बुधबार घोराहीमा सम्पन्न भएको हो । सो अवसरमा सहभागी वक्ताहरुले संगठनका माध्यमबाट समाजमा महिला सशक्तीकरणमा विशेष जोड दिन अपिल गर्नुभएको छ ।

सामाजिक रुपान्तरणका लागि महिला जुर्मुराउन संगठनले हिजो दिनबाटै भूमिका खेल्दै आएको हुँदा अबको कार्यदिशामा पनि अग्रसरता लिन नयाँ पुस्तालाई सचेत गराइएको छ । विभिन्न खालका हिंसा नियन्त्रण गर्न सचेतना फैलाउने, बिकृृति बिसंगति विरुद्ध आवाज उठाउन निरन्तर गाउँ, टोल, समाजमा पैरवी गर्ने काममा जुट्न वक्ताहरुको आग्रह रहेको थियो ।

कार्यक्रममा जिल्लाभरबाट उपस्थित २ सय बढी महिलाहरुलाई संगठनको ईतिहास र वर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै अबको कार्यदिशा र जिम्मेवारीका बारेमा प्रशिक्षण पनि दिइएको थियो । प्रशिक्षकहरुमा अनेमसंघ प्रशिक्षण विभाग प्रमुख मेनका पोख्रेल, संगठनकी केन्द्रीय सचिव सुजिता शाक्य, अनेमसंघ जिल्ला ईन्चार्ज सरस्वती गौतम, नेकपा एमाले जिल्ला अध्यक्ष हुकुम बस्नेत रहनुभएको थियो । पार्टीको नीति, सिद्धान्तलाई आत्मसात गर्दै सामाजिक रुपान्तरणका लागि खट्न उहाँहरुले अपिल गर्नुभएको थियो ।

यसैबीच, अनेमसंघले जिल्ला युवा कमिटी गठन गरेको छ । १ सय ४१ सदस्यीय युवा कमिटीलाई आजै सपथ ग्रहण पनि गराइएको छ । सबैलाई प्रमुख अतिथि शाक्यले सपथ ग्रहण गराउनुभएको हो । १ सय ४१ सदस्यीय युवा कमिटीको अध्यक्षमा सिर्जना बस्नेत घोराही, उपाध्यक्ष सुमित्रा आचार्य तुलसीपुर, लता केसी लमही, सचिव पुष्पा नेपाली तुलसीपुर, उपसचिव सरिता विक दंगीशरण, विमला चौधरी राप्ती र कोषाध्यक्ष अंशु अधिकारी घोराही चयन हुनुभएको छ । अरु सबैलाई सदस्यमा राखिएको छ ।

Blog Post Ad

युवा कमिटीले जिल्लाका पालिकाको वडास्तरमा पुगेर महिला सशक्तीकरणसँगै सामाजिक जागरणका कार्यक्रम गर्ने भएको छ । अखिल नेपाल महिला संघ उपाध्यक्ष लक्ष्मी शर्माको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव युवा कराराले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad