Ad Area

दाङ क्षेत्र नं. २ बाट महासचिव पोख्रेलको नाम एकल सिफारिस


घोराही, १९ भदौ । दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका महासचिव शंकर पोख्रेलको नाम एकल रुपमा सिफारिस भएको छ । नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नंं. २ को आइतवार घोराहीमा बसेको भेलाले महासचिव पोख्रेललाई प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रुपमा उम्मेवार बनाउन सिफारिस गरेको हो ।

लुम्विनी प्रदेशका सस्थापक मुख्यमन्त्री समेत रहेका महासचिव पोख्रेललाई आउँने मंसिर ४ गते हुने निर्वाचनका लागि २ नम्वर क्षेत्रबाट उमेदवार बनाउनका लागि माथिल्लो कमिटीमा सिफारिस गरिएको नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् ।

२०७४ सालमा भएको निर्वाचनमा पोख्रेल निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित भएका थिए । नेकपा एमाले र नेकपा माओवादी मिलेर नेपाल कम्युनिष्ट बनेको समयमा २ नम्वर क्षेत्रबाट प्रतिनिधिसभामा कृष्णबहादुर महरा र २ (क)बाट पोख्रेल निर्वाचित भएका थिए ।

त्यसैगरी नेकपा एमालेले १ र ३ नम्वर क्षेत्रबाट प्रतिनिधिसभाका लागि ३÷३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । सर्वसहमतिका लागि प्रयास भएपनि सहमति हुन नसकेपछि निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि वर्तमान संसद शान्ता चौधरी, गंगा चौधरी र प्रदेशसभा सदस्य रेवतीरमण शर्माको नाम सिफारिस भएको छ ।

निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, निवर्तमान राष्ट्रियसभा सदस्य कोमल वली र तुलसीपुर उपमहानगरपालिका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेयको नाममा सिफारिस गरेको नेकपा एमाले दाङका सचिव बुढाथोकीले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad