Ad Area

घोराहीमा मगर कला, संस्कृति र भेषभुषा प्रर्दशन


 दाङ,२४ भदौ । नेपाल मगर संघ दाङले घोराहीमा मगर कला तथा संस्कृति प्रदर्शन गरेको छ । प्रदर्शनीमा मगर समुदायले विभिन्न समयमा नाचिने नृत्य, गीतसँगै मगर समुदायको पात्रो ‘मोढे पात्रो’, भेषभुषा, बाजा, र गरगहनाहरु प्रदर्शनका गरिएको थियो । प्रदर्शनीमा बालबालिकाहरुदेखि वृद्धवृद्धाहरुको समेत उत्साह जनक सहभागिता थियो ।
मगर कला तथा संस्कृती प्रदर्शनी एवं सांस्कृतिक कार्यक्रममा मगर समुदायको मौलिक भुमे नाँच, झ्याउरे नाँच, सिंगारु नाँच, कौडा नाँच, सालैजो नाँच, मयुर नाँच, पैसरेलगायतका विभिन्न नृत्यहरु प्रस्तृत गरिएको नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनमगरले बताए ।
उनका अनुसार यो कार्यक्रमको मुख्य उद्देश्य भनेको पुरानो कला,सस्कृति,गरहना, भेषभुषालगायतका बारेमा नयाँ पुस्तालाई जानकारी दिनका साथै संरक्षण गर्ने नै हो । नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै लुम्विनी प्रदेशसभा सदस्य एवं नेपाल मगर संघका पूर्व केन्द्रीय बरिष्ठ उपाध्यक्ष तुलाराम घर्तीले मगर समुदायको कला,सस्कृति तथा भेषभुषा संरक्षणका लागि सरकारले चासो दिनुपर्ने बताए ।
कला र सस्कृतिको धनी जातीका रुपमा रहेपनि पछिल्लो समय संस्कृति र भेषभुषा हराउँदै गएको भन्दै उनले संरक्षणका लागि यस्ता कार्यक्रमहरु हुन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा रोल्पाको सुनछहारी गाउँपालिका अध्यक्ष एवं मगर संघका केन्द्रीय उपाध्यक्ष धनबहादुर पुन मगरले मगर समुदायको भाषा,सस्कृति संरक्षणका लागि तीन तहका सरकारहरुले ध्यानदिनुपर्ने बताएका थिए । कार्यक्रमका अर्को आकर्षणका रुपमा थिए, हास्य कलाकार खड्गबहादुर पुन मगर ‘खबपु’ । कमेडी च्याम्पियनको दोश्रो सिजनदेखि चर्चामा आएका खबपुले कार्यक्रममा उपस्थीत दर्शकहरुलाई हराउनेदेखि मगर समुदायको कला र सस्कृति संरक्षणका लागि नयाँ पुस्तालाई अग्रसर हुन समेत आग्रह गरेका थिए ।
आफ्नो पहिचान नै सवैभन्दा ठुलो भएको भन्दै कलाकार खबुपले हास्यव्यंग्यसँगै पहिचान संरक्षणका लागि अनुरोध गरेका थिए । कार्यक्रममा गायिका बालिका पुनमगरलगायतले विभिन्न प्रस्तुति राखेका थिए । लुम्बिनी प्रदेश उपाध्यक्ष तथा दाङ जिल्ला इन्चार्ज सितलाल पुनमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मुक्त बुढामगरले गरेका थिए ।
Blog Post Ad Blog Post Ad