Ad Area

भेटेरिनरी अस्पताल  तथा पशु सेवा विज्ञ केन्द्रको बजेट साढे ९ करोड


घोराही, ३१ भदौ । भेटेरिनरी अस्पताल  तथा पशु सेवा विज्ञ केन्द्र दाङले चालु आर्थिक वर्ष २०७९–०८० का लागि विनियोजित बजेट र कार्यक्रम बारे जानकारी गराएको छ । प्रदेश सरकार मातहत रहेको कार्यालयले चालु आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा गरेर ९ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट बिहीबार सार्वजनिक गरेको छ ।

कार्यक्रममा चालु आर्थिक वर्ष २०७९–०८० का लागि दाङ जिल्लामा सञ्चालन हुने विभिन्न कार्यक्रमको बारेमा जानकारी गराउँदै चालु आर्थिक वर्षमा पशु सेवा विज्ञ केन्द्रबाट जिल्लामा ९ करोड बढीको कार्यक्रम सञ्चालन हुने भएको हो । जसमा साधारण खर्चसँगै कर्मचारीको तलवभत्तादेखि पोषण सुुरक्षा कार्यक्रम, स्मार्ट कृषि गाउँ, मत्स्य विकास तथा प्रवद्र्धन, पशु स्वास्थ्य नियमन, प्रधानमन्त्री कृषि आधुनिकिकरण करण कार्यक्रमलगायत कार्यक्रम सञ्चालन हुनेछन् । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा बजेट घटेर आएको पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।

पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टका अनुसार, साधारण कार्यक्रमका लागि २ करोड   ९९ लाख ६७ हजार, खाद्य तथा पोषण सुरक्षा कार्यक्रमका लागि १ करोड ११ लाख ५० हजार, स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि १  करोड ३६ लाख ३० हजार, मत्स्य विकास तथा प्रवद्र्धन कार्यक्रमका लागि ४० लाख ७१ हजार विनियोजन भएको छ । यस्तै, पशुपन्छी  श्रोत प्रविधि सेवा टेवाका लागि २ करोड ५८ लाख ५७ हजार, पशु स्वास्थ्य  नियमन कार्यक्रमका लागि ८८ लाख २५ हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रमका लागि २३ लाख विनियोजन भएको कार्यालय प्रमुख भट्टले बताउनभयो ।

जस अन्तर्गत पूँजीगत खर्च तर्फ ४९ लाख मात्रै रहेको छ भने चालु तर्फ ९ करोड ९ लाख रुपैयाँ विनियोजन भएको छ ।  अघिल्लो आर्थिक वर्षमा १० करोड ६३ लाख विनियोजन भएकोमा यो पटक भने बजेटको आकार घटेर आएको  उहाँले बताउनुभयो । बजेट कार्यान्वयन हुन नसक्दा तथा प्रकृयागत काममा भएको ढिलाईले बजेट पूर्ण कार्यान्वयनमा आउन नसक्दा यो पटक १ करोड ५ लाख कम गरेर ९ करोड ५८ लाख मात्रै बजेट आएको उहाँले बताउनुभयो ।

सो अवसरमा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले अनुदानको दुरुपयोग भएको पाइएमा कसैलाई पनि नछाड्ने चेतावनी दिनुभयो । वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा उहाँले  अनुदान र सेवाको नाममा गलत लाभ उठाउन खोज्ने जो कोहीलाई कडा कारवाही हुने चेतावनी दिनुभयो ।

प्रमुख अतिथि शर्माले अनुदानका कार्यक्रममा दुरुपयोग भएको कुरा बाहिर आउने गरेको सुनेको भन्दै त्यस तर्फ ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘अनुदानका कार्यक्रम दुरुपयोग हुने गरेको सुनिन्छ । यदि यस्ता कार्यक्रमहरु दुरुपयोग भयो भने तपाईहरुलाई पनि छुट दिइने छैन, सचेत भएका काम गर्नुहोला, यो वा त्यो बहानामा वास्तविक लाभग्राहीले दुख पाउनु भएन ।’

Blog Post Ad

उहाँले वास्तविक कृषकहरुले अनुदान पाउनु पर्ने भन्दै अनुगमनलाई निकै प्रभावकारीका साथ अगाडि बढाइने बताउनुभयो । अनुदान दिँदा वास्तविक किसानलाई मारेर कोहि नेताको पछि लागेकै भरमा उसलाई कदापि दिन नहुने धारणा राख्नुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख भट्टले संघीयता कार्यन्वयनको चरणमा नै रहेको भन्दै केहि कार्यक्रमहरु गर्दा संघ, प्रदेश र स्थानीय तहबीच तालमेल नहुने गरेको बताउनुभयो । कतिपय कृषकले स्थानीय, प्रदेश तथा संघबाटसमेत अनुदान पाउने अवस्था आएको भन्दै यो तीन तहका सरकारबीचको तालमेल नमिल्दा भएको उहाँले जनाउनुभयो ।

पशु सेवा विज्ञ केन्द्र दाङका योजना सहायक खड्क केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कृषि ज्ञान केन्द्र दाङका प्रमुख बुद्धिराज घिमिरे, दशवटै स्थानीय तहका कृषि तथा पशु शाखामा कार्यरत कर्मचारी, कृषकलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य शाखा अधिकृत भरत देवकोटाले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad