Ad Area

स्वास्थ्यका लागि माग एकातिर योजना अर्कातिर हुँदा समस्या


घोराही, २ असोज । स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी घोराहीमा शुरु भएको छ । जिल्ला समन्वय उपप्रमुख चेतना चौधरीको अध्यक्षतामा शुरु भएको दुई दिने गोष्ठीमा दाङका १० वटै पालिकाका स्वास्थ्य शाखाहरुले वितेको आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा गरेका काम, उपलब्धि, चुनौति र निकासका बारेमा छलफल गर्नेछन् ।

गोष्ठीको उदघाटन शत्रमा बोल्ने वक्ताहरुले लक्षित स्वास्थ्यका सुचक प्राप्त गर्न अझै चुनौति रहेको बताएका छन् । जिल्लामा अहिले पनि बर्थिङ सेन्टर स्तरीय बन्न नसकेको, असुरक्षित गर्भपतनको दर बढ्दै गएको, एचआईभी संक्रमित संख्या बढ्दै गएको लगायत स्वास्थ्यका विभिन्न काममा समस्या बढेको हुँदा समस्या समाधानका लागि स्थानीय पालिकाले दक्ष जनशक्ति व्यवस्थापनसँगै बजेटमा पनि ध्यान दिनुपर्नेमा जोड दिईएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीे पालिकाहरुको अहिले पनि पूर्वाधार क्षेत्रमा बजेट छुट्याउने परिपाटी भएको बताउँदै सामाजिक, स्वास्थ्य क्षेत्रमा कम प्राथमिकता पर्नु दुखद रहेको बताउनुभयो । ‘स्वास्थ्य क्षेत्रमा अहिले पनि विभिन्न खालमा समस्या विद्यमान छन् तर हाम्रा पालिकाहरुले पूर्वाधारका कुरालाई मात्रै प्राथमिकता दिएर बजेट बनाउने र काम गर्ने गरेको पाइएको छ,’ उहाँले भन्नुभयो, ‘नागरिकको स्वास्थ्य र शिक्षा सचेतनामा बजेट खै रु’ उहाँले समस्या र चुनौतिसँगै अवसर आएपनि त्यसलाई पहिचान गर्ने सवालमा स्थानीय पालिकाहरु चुकिरहेको बताउनुभयो ।

कोरोना कालमा स्वास्थ्यकर्मीको अभाव टार्न स्वास्थ्य क्षेत्रका व्यक्तिहरुको भूमिका अतुलनीय भएपनि त्यसपछि उनीहरुलाई सम्बोधन नभएको प्रति दुख व्यक्त गर्नुभयो । काम पर्दा सहयोग लिने तर अहिले आवश्यकता छैन भन्दै बेवास्ता गर्ने काम गरिएको प्रति ध्यानाकर्षण गराउनुभयो ।
उसो त, प्रदेश र संघको निर्देशित योजनालाई आधार बनाएर बजेट विनियोजन गर्ने, नीति कार्यक्रम ल्याउने कामको निरन्तरताले पनि स्थानीय आवश्यकता र मागलाई सम्बोधन गर्न नसकेको उहाँको भनाई थियो । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा पालिकाहरुले विशेष रुपमा ध्यान दिनुपर्ने हो,’ उहाँले भन्नुभयो, ‘स्थानीयताको कुरालाई प्राथमिकतामा राखेर काम गर्न सके नागरिकको जीवनमा सकारात्मक प्रभाव पर्ने थियो ।’

सो अवसरमा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी निर्देशक प्रज्ञा बस्नेतले स्वस्थ नागरिक उत्पादनका लागि स्वास्थ्यमा लगानी गर्नु राज्यको दायित्व रहेको बताउनुभयो । पछिल्लो समय प्रतिष्ठानले स्वास्थ्यका क्षेत्रमा सुधार गर्दै लगेको बताउँदै आम नागरिकको पुहँचमा सेवा बिस्तार गर्ने काम भईरहेको बताउनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका भरत कुवरले प्रदेश सरकार मातहतका निकायको काम हेर्दा पछिल्ला वर्षहरुका स्वास्थ्यका सूचक सुधार हुँदै गएको बताउनुभयो । तर, योजना अनुसारका कामलाई थप उचाई दिन स्थानीय स्तरमा हुने कार्यक्रम प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।

Blog Post Ad

बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले स्वास्थ्यका कार्यक्रम बनाउँदा एकै प्रकारका बनाउँदा समस्या भएको हुँदा भूगोल परिवेश अनुसार पालिकालाई प्राथमिकता दिनुपर्ने माग गर्नुभयो । स्वास्थ्य क्षेत्रमा केही नयाँ कार्यक्रम ल्याउन र कार्यान्वयनमा लैजानका लागि स्वास्थ्य कार्यालयले पहल गर्नुपर्ने उहाँको धारणा थियो । कार्यक्रममा स्वास्थ्यका लागि सक्षम प्रणालीकी अर्चना अर्याल, सेभ द चिल्ड्रेनकी भारती केसीलगायतले बोल्नुभएको थियो ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीको स्वागत एवम् विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण शाखा अधिकृत वामदेव शर्माले गर्नुभएको थियो । पालिकास्तरीय स्वास्थ्य समिक्षामा स्वास्थ्य शाखा प्रमुखहरुले आआफ्नो पालिकामा भएका कामको बारेमा जानकारी गराउने काम भईहरेको छ ।

Blog Post Ad Blog Post Ad