Ad Area

बजार अनुगमन तीव्र बनाउन र गुणस्तरीयता कायम गर्न नागरिक समाजको ध्यानाकर्षण


घोराही, ७ असोज । नागरिक समाज दाङले नजिकिएको चाड पर्वलाई लक्षित गरि बजार अनुगमन तीव्र बनाउन र बस्तुको गुणस्तरीयता कायम गराउन अपिल गरेको छ ।

समाजका संयोजक केबी मसालको अध्यक्षतामा शुक्रबार घोराहीमा बसेको नियमित बैठकले जिल्लाका दस वटै पालिकाले आफ्नो क्षेत्राधिकारभित्र स्थलगत अनुगमन, निरिक्षण गरी बजार व्यवस्थित गराउँदै उपभोक्ताको हकहितमा ध्यान दिन गुणस्तरीय बस्तु सर्वसुलभ रुपमा उपलब्ध गराउन अनुरोध गरेको छ ।

यस्तै, जिल्लाको घोराही, तुलसीपुर, लमही, भालुवाङ, गढवा, सिसहनियाँ, हापुरेलगायतका शहर बजारमा सार्वजनिक सवारीसाधन, अटोरिक्साले चर्काे भाडा असुलिरहेको सेवाग्राहीबाट गुनासो आईरहेकाले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार दस वटै पालिकाले स्थलगत अनुगमन गरि उपयुक्त भाडा दर कायम गरिदिन अनुरोध गरेको छ ।

समाजले जिल्लाको एक मात्र विमान स्थल टरीगाउँ एअरपोर्टको स्तर वृद्धिका लागि रन वेको दक्षिण तर्फ रहेको ५ सय मिटर धावन मार्ग बिस्तार गर्दा ७२ सिट क्षमताको एटीआर विमान अवतरण गर्न सक्ने भएकाले उक्त विमानस्थलको धावन मार्ग बिस्तार गरि नियमित हवाई सेवा प्रदान गर्ने वातावरण बनाउन पर्यटन, नागरिक तथा उड्डयन मन्त्रालयलाई अनुरोध गरेको छ ।

यस्तै, नेपालीहरुको महान चाड दशैँ, तिहार छठ पर्वको अवसरमा सम्पूर्णमा सुख शान्ति समृद्धि र सुस्वास्थ्य एवम् दिर्घायुको शुभकामना व्यक्त गरेको छ । बैठकमा समाजका संस्थापक संयोजक नारायणप्रसाद शर्मा, उपसंयोजक निमबहादुर थापा, निवर्तमान संयोजक चन्द्रराज पन्त, सदस्यहरु सुशील गौतम, हरिप्रसाद पाण्डेय, पद्मप्रसाद शर्मा, नारायणप्रसाद भण्डारी, भरतमणि पाण्डेलगायतले धारणा राख्नुभएको थियो । बैठकको सहजीकरण समाजका सचिव नारायणप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad