Ad Area

वडा कार्यालयमै भेटियो डरलाग्दो अवस्थामा ‘डेंगु सार्ने लामखुट्टेको लार्भा’


घोराही, ११ असोज । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय परिसरमै डेंगु सार्ने ‘लामखुट्टेको लार्भा’ प्रसस्त मात्रामा भेटिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौको टोलीले वडा कार्यालयमा मंगलबार गरेको परिक्षणका क्रममा वडा कार्यालय परिसमै ठूलो मात्रामा एडिस एजिप्टाई लामखुट्टेको लार्भा फेला पारेको हो ।

‘टेकुबाट आउनुभएका सरहरुले वडा कार्यालयमा रहेका गमला, टायर अनि जमेको पानी परिक्षण गर्दा लार्भा ठूलो मात्रामा फेला पार्नुभएको छ,’ वडा अध्यक्ष भानसिंह बुढाले भन्नुभयो, ‘वडामा धेरै रहेछ, हामीले सरसफाईमा धेरै ध्यान दिनुपर्ने अवस्था आएको छ ।’ लार्भा यति धेरै मात्रामा फेला परेपछि वडा कार्यालय ससंकित बनेको छ । वडा कार्यालयभित्रका टोल विकास संस्थाहरुमा पुगेर पनि सचेतना जगाउने र परिक्षण गर्ने काम भएको उहाँले बताउनुभयो । लार्भा मार्नु नै यसको अन्तिम विकल्प रहेकाले सचेतनामूलक कार्यक्रम गर्ने र लार्भा नष्ट अभियान चलाउने काम अघि बढाईएको उहाँको भनाई छ ।

स्वास्थ्य कार्यालय दाङका अनुसार करीव ३० दिनको आयु रहेको एडिस एजिप्टाई लामखुट्टेले आफ्नो जीवनकालमा ९ पटक अण्डा पार्ने गर्दछ । एक पटकमा १ सय ५० वटा अण्डा पार्ने हुँदा पूरा अवधिमा १ हजार ३ सय ५० वटा अण्डा पार्ने भएकाले अत्यन्तै जोखिम बढेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो । ‘पानीमा परिक्षण गर्दा लार्भा धेरै देखियो, अब सबै ठाउँबाट जमेको पानी नफाल्दासम्म सम्भव भएन,’ उहाँले भन्नुभयो, ‘पहिलो कुरा सचेतना जगाउन तर्फ लाग्नुपर्छ ।’

डेंगु नियन्त्रणका लागि मंगलबार भएको सचेतनमूलक कार्यक्रम तथा परिक्षण अभियानमा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा, नगर स्वास्थ्य, वडा स्तरीय स्वास्थ्य, टोलका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो । अब बुधबार घोराही १५ को वडा कार्यालयमा सचेतनासँगै परिक्षण गर्ने बताइएको छ ।

स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार अहिलेसम्म दाङका १० पालिका मध्य सात पालिकामा डेंगु संक्रमित भेटिएका छन् । दाङको शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र बंगलाचुली गाउँपालिमा डेंगु संक्रमित भेटिएका छैनन् ।
सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा डेंगु संक्रमित भेटिएका छन् ।

स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिकामा ९ सय ९४ जना, तुलसीपुर उपमहानगरपालिकामा २ सय ४७, लमही नगरपालिकामा २५, गढवा गाउँपालिकामा ५, राप्ती गाउँपालिकामा ५, दंगीशरण गाउँपालिकामा १ र बबई गाउँपालिकामा १ जनामा डेंगु संक्रमण भएको छ । जिल्लामा डेंगु रोग संक्रमणबाट घोराही १४ की एक महिलाको मृत्यु भइसकेको छ ।