Ad Area

पर्यटकीय सम्पदाको स्थलगत निरिक्षण गर्दै पर्यटन दिवस मनाईयो


घोराही, ११ असोज । विश्व पर्यटन दिवसका अवसरमा दाङका पालिकाले आफु मातहतका पर्यटकीय, धार्मिक सांस्कृति सम्पदाहरुको अवस्था र भावी कार्य योजनाका बारेमा स्थलगत निरिक्षण गर्दै समीक्षा गरेका छन् । ‘पर्यटनका लागि पुनर्विचार’ भन्ने नाराका साथ यस वर्षको विश्व पर्यटन दिवस मनाउने क्रममा पालिका स्तरमा रहेका सम्पदा क्षेत्रको पहिचान गर्दै त्यसको दीगो विकासमा लाग्ने प्रतिवद्धता पनि जनाएका छन्. ।

जिल्लाका घोराही उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाको आयोजनामा मंगलबार पालिकाभित्रका विभिन्न पर्यटकीय तथा धार्मिक सांस्कृतिक स्थलहरुको स्थलगत अनुगमन अध्ययन गरेर भव्य रुपमा पर्यटन दिवस मनाईएको छ । सो अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारामा रहेको सरयु नदी (बबई नदी) को उद्यम स्थल, सोही वडाको चरिङ्गे दह, चेपे दह तथा घोराही १७ चौघेरास्थित गोरक्ष रत्ननाथ मन्दिर परिसरको पछिल्लो अवस्थाका बारेमा जानकारी लिँदै पालिकाबाट आगामि दिनमा योजनासहित थप प्राथमिकताका कार्यक्रम गरिने बताईएको छ ।

बन्द कोठामा गरिने औपचारिक कार्यक्रम भन्दा स्थलगत रुपमा बस्तुस्थिति बारे जानकारी लिने तथा पर्यटन पूर्वाधारका लागि आगामि दिनमा चाल्नु पर्ने कदमका बारेमा नवीन सोँच पैदा गर्न सहज भएको घोराही उपमहानगरपालिकाकि उपप्रमुख हुमा डिसीले बताउनुभयो । उहाँले पालिकामा रहेका पर्यटकीय सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व स्थानीय सरकारको रहेको बताउँदै आवश्यक पूर्वाधार विकासमा आगामि दिनमा विशेष ध्यान बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रको विकास गर्दै आर्थिक समृद्धिमा टेवा पुग्ने गरी काम पालिकाबाट काम भईरहेको बताउनुभयो ।

सो अवसरमा, जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले घोराही उपमहानगरपालिकामा रहेका पर्यटकीय, धार्मिक, सांस्कृतिक क्षेत्रको दीर्घकालीन विकासका लागि माथिल्लो निकायसँग गर्न सकिने सबै खालका सहयोग रहने बताउनुभयो । पालिकाले पर्यटन दिवसका अवसरमा पर्यटकीय तथा धार्मिक सांस्कृतिक क्षेत्रमै पुगेर कार्यक्रम गरेर नौलो अभ्यास शुरु गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । घोराहीमा पर्यटकीय क्षेत्रका रुपमा रहेका दर्जनौ सम्पदा रहेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख चेतना चौधरी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद भट्टराई, प्रेस काउन्सिल सदस्य शरद अधिकारी, पत्रकार महासंघ दाङ शाखा उपाध्यक्षद्वय सन्तोष सुवेदी बसुन्धरा गौतम, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुदर्शन रिजाल, चेम्बर वरिष्ठ उपाध्यक्ष घनश्याम अधिकारी, दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग सदस्य भरत रेग्मी, कर्मचारी बालकृष्ण खनाल, पत्रकारलगायतको उपस्थिती रहेको थियो । स्थलगत निरिक्षण एवम् अनुगमनको समन्वय तथा सहजीकरण महेन्द्र बहुमुखी क्याम्पसमा संस्कृति विषय प्राध्यापनरत उपप्राध्यापक सुन्दर गौतमले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad