Ad Area

कृषकलाई साढे चार लाखको तरकारीको बीउबीजन वितरण


घोराही, ११ असोज । घोराही उपमहानगरपालिका कृषि शाखाले कृषकलाई तरकारीको बीउबीजन वितरण गरेको छ । पालिका अन्तरगतका १९ वटै वडाका कृषकलाई मंगलबार एक कार्यक्रम गरी मागमा आधारित बीउबीजन वितरण गरिएको हो । कृषि शाखाका कृषि प्रसारक अधिकृत दीपक बुढाथोकीले पालिका अन्तरगत कम्पोजिट पाकेटमा ६ सय २५ पोका निशुल्क रुपमा बीउ वितरण गरिएको बताउनुभयो । जसमा रायो, मुला, गाजर, गाँठ गोभी, काउली, बन्दा, सलगम रहेका छन् ।

चालु आर्थिक वर्ष २०७९–०८० को वार्षिक कार्यक्रममा स्वीकृत बजेटबाट बीउबीजन खरीद गरि कृषि शाखामार्फत निशुल्क रुपमा वितरण गरिएको उहाँले बताउनुभयो । यस्तै, ३ सय ९२ किलो प्याजको बीउ पनि ६० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको छ । घोराही १७ का पूर्ण चौधरीले आफ्नो दुई बिघा र भाडामा १० कट्ठा गरि साढे दुई बिघा जमिनमा तरकारी खेती गर्न थालेको १५ वर्षमा पछिल्लो समय पालिकाले कृषिमा गर्दै आएको अनुदानको लाभ उठाउँदै आउनुभएको छ । यो पटक पनि उहाँले तरकारी र अरु बाँकी जमिनमा प्याज खेती गर्ने गरी तरकारीको बीउ लग्नुभएको हो ।

घोराही– ३ कि सितानी चौधरी पनि तरकारीको बीउ लिन कृषि शाखाबाट बीउ लग्नुभएको छ । उहाँले तरकारी खेती गरेर आम्दानी गर्ने सोँचले बीउ लिन आएको बताउनुभयो । पानीको राम्रो सुविधा भएको, हिउँदे तरकारी रोपेर आम्दानी गर्ने विचार रहेको बताउनुभयो । घरमा ताजा तरकारी खान पनि पाइने र बचेको बिक्री गर्न पनि हुन्छ भनेर तरकारीको बीउ लिन आएको उहाँले बताउनुभयो । पालिकाले वितरण गरेको बीउ लिन कृषकको भीड लागेको थियो ।

पालिकाले यसअघि गत भदौ २ गते सार्वजनिक सुचना प्रकाशित गरि कृषकहरुलाई लक्षित बीउबीजनका लागि आवेदन माग गरेको थियो । कृषकले दिएको निवेदनका आधारमा आवश्यक मापदण्डमा किसानलाई बीउ वितरण गरिएको हो । पालिकाले तरकारीको कम्पोजित बीउका लागि दुई लाख पचास हजार र प्याजको बीउका लागि दुई लाख रुपैयाँ विनियोजन गरेको थियो ।

Blog Post Ad Blog Post Ad