Ad Area

दाङ पनि भित्र्याईयो फूलपाती


घोराही, १६ असोज । आज आईतबार बडादशैंको सातौं दिन हिन्दू धर्मावलम्बीहरुले परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याएका छन् । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ ।

नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रमा देवीहरूको पूजा गरिन्छ । दाङसहित देशभर दूर्गाको पूर्जा गरी विधिपूर्वक फूलपाती भित्र्र्याईएको छ । दाङको घोराही १८ स्थित अम्बिकेश्वरी मन्दिरमा आज बिहान नेपाली सेना र नेपाल प्रहरीको टोलीले विधिपूर्वक पूजा गरी धुमधामका साथ फूलपाती भित्र्याइएको छ ।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली सेनाका रणसिंह दल गणका प्रमुख सेनानी रविन्द्र महर्जन, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वली, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलहरुको संयुक्त उपस्थितीमा सेनाको टोलीले बाजागाजासहित फूलपाती भित्र्याएको हो ।

फूलपाती भित्र्याउन र पूजा गर्न बिहानैदेखि भक्तजनको भीड लागेको थियो । आजकै दिन काठमाडौंको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा पनि विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याउने चलन छ । आज कालरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।
यसैबीच, घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हने भएकाले आजबाट सरकारी कार्यालय पनि विदा भएका छन ।

फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय पनि बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जानेक्रम उल्लेख्य रुपमा बढेको छ ।