Ad Area

मुक्त कमलरी विकास मन्च दाङ शाखा अध्यक्षमा गीता चौधरी चयन


रन्जिता अधिकारी

घोराही , १ कार्तिक । मुक्त कमलरी विकास मन्च दाङ शाखाको अध्यक्षमा गीता चौधरी चयन हुनुभएको छ । मन्चको मंगलबार सम्पन्न १२ औँ साधारण सभा एवम् पाँचौँ जिल्ला अधिवेशनले चौधरीको नेतृत्वमा सात सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा लीला चौधरी, कोषाध्यक्षमा सोना कुमाल, सचिवमा अङ्किता चौधरी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा कमला चौधरी, लक्ष्मी चौधरी र निर्मला चौधरी रहनुभएको छ ।

अधिवेशन अघि मुक्त कमलरी बिकास मन्चका जिल्ला अध्यक्ष रमिता चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रंमुख हुमा डिसीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि डिसीले मुक्त कमलरीहरु आफ्नो खुट्टामा उभिन सक्ने गरी अग्रसर हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले बन्दी जीवनको जन्जीर तोडेर स्वतन्त्रताको दुनियाँमा आउपछि केही गरेर देखाउने शाहस बटुल्न मुक्तकमलरीलाई हौसला दिनुभयो ।

त्यसको लागि कमलरीले स्थापना गरेका सहकारीलाई व्यवस्थित गर्नुपर्ने र यसबाट उद्यमशीलतामा जोडिन अपिल गर्नुभयो । उहाँले नेतृत्वदायी भूमिकामा आउनका लागि अब स्थानीय तहमा मुक्त कमलरीहरु उम्मेदवारी दिएर नेतृत्व तहमा जानुपर्ने बताउनुभयो ।

Blog Post Ad

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले कमलरीको पक्षमा आवाज उठाउने संस्था कमलरी विकास मन्च भएकाले असल नेतृत्व आवश्यक रहेको बताउनुभयो । मुक्त कमलरी विकास मन्चका कानुनी सल्लाहकार फकला थारुले सरकारले मुक्त कमलरीसंग गरेको १० बुँदे सहमतीलाई पालना नगरेर बेइमानी गरिरहेको बताउनुभयो । छात्रावासमा बस्ने छात्राहरू अझैसम्म पनि पैसाको अभावमा पढाईबाट वन्चित हुने अवस्था रहेको बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष चित्रबहादुर चौधरी, वडा नम्बर ४ का सदस्य रमला चौधरी, मुक्त कमैया समाजका महिला अध्यक्ष साबी चौधरी लगायतले शुभकामना दिनुभएको थियो । मन्चका सचिव सुशिला चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण सुनिता चौधरीले गर्नुभएको थियोे ।

मुक्त कमलरी विकास मन्चले मुक्तकमरीसँगै पिछडिएका महिला, बालबालिका, सहयोगापेक्षी समुदायको उत्थानका लागि पैरवी गर्दै आएको छ । मन्चको दाङसहित बाँके, बर्दिया, कैलाली, कन्चनपुरमा पनि जिल्ला शाखा रहेको छ ।

Blog Post Ad Blog Post Ad