Ad Area

दाङ देउखुरीको बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको संक्रमण


दाङ, १ कार्तिक । दाङ देउखुरीको बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको संक्रमण देखिन थालेको छ । महिला र बालबालिकाहरुमा अहिले ज्वरो आउने, रुघाखोकी लाग्ने, पेट दुख्ने जस्ता पानीका कारण हुने समस्या देखिन थालेका छन् । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्वन्धि प्रकोप फैलन सक्ने जोखिम देखिएपछी नेपाल परिवार नियोजन संघलगायत स्वास्थ्य सम्वद्ध संघ संस्थाले मंगलबार देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा आयोजना गरेको एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा बाढीका कारण हुने सरुवाजन्य रोगको संक्रमण देखा परेको हो ।

असाजेको १८, १९, २० र २१ गते अविरल वर्षाका कारण आएको बाढीका कारण दउखुरीका ४ वटै पालिका प्रत्यक्ष प्रभावित भएका थिए । बाढी र पहिरो प्रभावितहरुमा अहिले पानीका कारण सरुवाजन्य स्वास्थ्य सम्बन्धि समस्या देखिएको स्वास्थ्य शिविरमा विरामी जाँच गर्नुभएका डा. अमित लाम्गादेले बताउनुभयो ।

उहाँका अनुसार अहिले पानीका श्रोत प्रदुषित भएकाले अनिवार्य पानी शुद्धीकरण गर्नुपर्ने अवस्था रहेको छ । खासगरी देउखुरीका अधिकांश ठाउँमा ट्युबवेल, कुवाको पानी खाने गरिएको छ । ती ठाउँमा प्रयोग हुने पानी अहिले बाढी र डुबानका कारण प्रदुषित बनेका छन् । बाढीका कारण हुन सक्ने जोखिमलाई मध्येनजर गर्दै स्वास्थ्य कार्यालयले प्रत्येक घरमा औषधी पठाउने काम गरेको जनाएको छ । रेडक्रससँगको समन्वयमा पानी शुद्धीकरण गर्ने औषधी वितरण गरिएकाले यसलाई हरेक घरमा प्रयोगमा ल्याउनुपर्ने स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताउनुभयो ।

बाढीले पानीको स्रोतहरु समेत डुबाउँदा पानीजन्य रोग फैलन सक्ने जोखिम देखिएको हुँदा सावधानी अपनाउने काम भईरहेको वडा नम्बर ५ का वडाअध्यक्ष लेखराज थापाले बताउनुभयो । बाढी र डुबान प्रभावितले पानीका कारण आफुलगायत घरका नाति नातिनामा पनि स्वास्थ्य समस्या देखिएपछि स्वास्थ्य शिविरमा आएको बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा सरुवा रोग फैलन सक्ने जोखिम रहेकाले अहिले प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरि परामर्शसहित औषधी उपलब्ध गराईएको छ । शिविरमा गढवा गाउँपालिका स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय दाङ तथा अरु आधा दर्जन संघसंस्थाले सहकार्य गरेका थिए ।

Blog Post Ad

यसैबीच, एकदिने एकीकृत स्वास्थ्य शिविरमा उपचारका लागि आएकाहरुमा यौन तथा प्रजनन स्वास्थ्य समस्या पनि देखा परेको नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रवन्धक बसन्त खनालले बताउनुभयो । उहाँका अनुसार १ सय २ जनाको स्वास्थ्य परिक्षण गर्दा पाठेघर खसेको ३ जना पहिचान भएका छन् । यसैगरी, पाठेघर मुखको क्यान्सर जाँच ४८ जनाको गर्दा २ जना संकास्पद रहेको, एचआईभी जाँच ३२ जनाको गरिएको छ ।

शिविरको औपचारिक उदघाटन गर्दै लुम्बिनी प्रदेश सरकारले बाढी प्रभावितहरुको पुर्नस्थापनासँगै उपचारमा ध्यान दिएको स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले बताउनुभयो । सरकारका तर्फबाट नागरिकको स्वास्थ्य उपचारमा ध्यान भईरहेकोमा सरोकार संघ संस्थाको पहलकदमीले सरकारको काममा ठूलो सहयोग मिलेको बताउनुभयो ।

नेपाल परिवार संघ दाङ, स्वास्थ्य कार्यालय दाङ र गढवा गाउँपालिकाको आयोजना तथा औषधि व्यवसायी दाङ शाखा, सिपि नेपाल, पद्मोदय मावि भरतपुर ग्रुप ५५, स्वास्थ्यका लागि सक्षम प्रणाली लगायतको सहयोजनामा एकीकृत स्वास्थ्य शिविर भएको हो । यस प्रकारको शिविर देउखुरीका ३ वटै पालिकामा चाँडै गर्ने तयारी भएको नेपाल परिवार नियोजन संघ दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad