Ad Area

दाङ आईटिएफ तेक्वान्दोलाई तीन काश्य


दाङ,५ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दाङबाट आईटिएफ खेलमा सहभागी भएका तीन जना खेलाडीहरुले पदक जितेका छन् । गत असोजको २८ गतेदेखि कार्तिकको ३ गतेसम्म चलेको प्रतियोगितामा लुम्विनी प्रदेशको टिमबाट सहभागी भएका दाङ आईटिएफ तेक्वान्दो संघका खेलाडीहरु अर्जुन नेपाली, सन्तोष बुढामगर र संचिता पुनमगरले काश्य पदकसहित मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गरेका हुन ।

बाग्लुङ जिल्लाको बांग्लुङ नगरपालिकामा भएको प्रतियोगितामा पुरुषतर्फ ५१–५५ तौल समूहको खेलमा अर्जुन नेपाली, ४६–५० तौल समूहको खेलमा सन्तोष बुढामगर र महिलातर्फ ६५ केजी प्लसको खेलमा लुम्विनी प्रदेशका लागि काश्य पदक जितेको दाङ आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् । जिल्लास्तरमा आईटिएफ खेलहरुलाई अन्य खेलको तुलनामा सहयोग नभएपनि राष्ट्रियस्तरको प्रतियोगितामा खेलाडीहरुले पदक जित्नु राम्रो भएको अध्यक्ष थापाले बताएका छन् ।

‘जिल्ला तहमा स्थानीय सरकारबाट भने जस्तो सहयोग प्राप्त हुने अवस्था भएमा दशौं राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक दिलाउन सक्छौ’,संघका अध्यक्ष थापाले भने,‘त्यसका लागि जिल्लामा स्थानीय सरकारबाट इन्डोर खेलका लागि आवश्यक पूर्वाधारसँगै खेल सामग्री सहयोग गर्न आवश्यक छ ।’ अध्यक्ष थापाका अनुसार अहिले जिल्लामा आईटिएफ तेक्वान्दोका खेलाडीहरुलाई खेल्ने राम्रो स्थान समेत छैन । प्रतियोगितामा लुम्विनी प्रदेशस्तरीय टिमबाट छनोट भएका २५ जना खेलाडीहरु मध्य दाङबाट सहभागी भएका तीनै जना खेलाडीहरुले पदक जित्न सफल भएका हुन् ।

यसैविच दाङ आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले प्रतियोगिताको तयारीका लागि सहयोग गर्ने सवैप्रति धन्यावाद ज्ञापन गरेका छन् । जिल्लास्तरीय छनोट प्रतियोगितादेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट भएका खेलाडीहरुलाई तयारीका लागि भिमसेन सभाहल उपलव्ध गराउने घोराही उपमहानगरालिका वडा नं. १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेय, नेवा सेवा समिति घोराहीलगायतका सहयोगीलाई विशेष धन्यावाद दिएका हुन । वडा अध्यक्ष पाण्डेयले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि आवश्यक खेलकुद सामाग्री समेत सहयोग गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad