Ad Area

पीडितको उद्धारपछिको राहतमा ध्यान दिन नागरिक समाजको अपिल


घोराही, ५ कार्तिक । नागरिक समाज दाङले बाढी पीडितको उद्धारपछिको राहतमा चासो दिन स्थानीय पालिका तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ । देउखुरी क्षेत्रमा डुबानमा परेका बस्तीका नागरिकको उद्धारपछिको राहतमा सरोकारवाला निकायले लामो समय भई सक्दा पनि चासो नलिएको भन्दै यसलाई विशेष रुपमा हेर्न समाजको शनिबार घोराहीमा बसेको बैठकमार्फत् आग्रह गरिएको छ ।

वर्षाका कारणले निम्त्याएको विपदको जानकारी लिन असोज २५ गते गएको समाजको टोलीले लमही, राजपुर, गढवालगायतको ठाउँमा नागरिकको अवस्था निकै पीडा बोध गरेको बारे तत्काल स्थानीय पालिकालाई जानकारी गराउँदै उद्धार र राहतमा ध्यान दिन गरिएको भएपनि लामो समय भईसक्दा पनि सम्बोधन हुन नसकेको प्रति पुनः ध्यानाकर्षण गराउँदै पीडितलाई दिनुपर्ने राहत, अन्य थप सुविधा र क्षतिपूर्तिसहित उचित व्यवस्थापन गर्न स्थानीय पालिकालाई अपिल गरेको बैठकपछि सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, लमही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयलाई लिएर पालिकाको कार्यालय अस्तव्यस्त बन्दा बाढीपीडतको उद्धार राहतमा अवरोध हुन गएको र नियमित कार्यसमेत प्रभावित भएकाले तत्काल विवाद समाधान गरी जनतालाई सहज सेवा पुर्याउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

यस्तै, वर्षाका कारण घोराही–लमही, तुलसीपुर–अमिलिया, गढवा–कोईलाबास सडक खण्डमा पुगेको क्षतिले गर्दा आम नागरिकले सास्ती व्यहोर्दै आएको स्मरण गराउँदै सडक सामान्य मर्मत बाहेक थप प्रगति हुन नसकेकाले यथाशीघ्र मर्मत गरी पूर्ण रुपमा सडक संचालनका लागि मर्मत सम्भारमा जुट्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

यस्तै नजिकै आईरहेको नेपालीहरुको दास्रो ठुलो पर्व तिहारका बेलामा अवस्वभाविक मुल्य बृद्धि, मिसावट र कम गुणस्तर, म्याद गुजे्रका खाद्य सामग्री विक्रि भईरहेको, निषेध गरिएको भनिएको पटका र प्लास्टिकका फूल मालाहरु पसलमा बिक्रि वितरण भइरहेकाले समाजले ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका संयोजक केबी मसालको अध्यक्षतामा बसेको बैठकले घोराही तुलसीपुर लमही लगायत क्षेत्रमा गुड्ने अटोमा आफु खुसी मनपरी भाडा असुल्ने गरेको गुनासो आएकाले नियमन र नियन्त्रण गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गर्दै प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ । बैठकले नारायण शर्मा विवश र हरिप्रसाद रिजाललाई नागरिक समाज दाङको साधारण सदस्यता प्रदान गर्ने निर्णय पनि गरेको छ ।

Blog Post Ad

बैठकमा नागरिक समाजका निवर्तमान संयोजक चन्द्रराज पन्त, टीकाराम रेग्मी, कोषाध्यक्ष हरिलाल विश्वकर्मा, कार्यसमिति सदस्य रामदयाल गुप्ता, नवराज श्रेष्ठ, चक्रबहादुर विश्वकर्मा, सदस्यहरु ऋषिराज जंगली, पद्मप्रसाद शर्मा, शरद गौतम, बसन्तराज भट्टलगायतको उपस्थिती रहेको थियो ।

Blog Post Ad Blog Post Ad