Ad Area

तिहारलाई माटोको पाला बनाउन भ्याइनभ्याई


 दाङ,६ असोज । उज्यालो पर्व तिहारमा दियो बत्ती बाल्न आवश्यक पर्ने माटोको पाला बनाउन दाङको गढवा गाउँपालिका –१ पत्रिगाँ निवासी ६८ बर्षीय गाजुराम थारु कुमाललाई हिजोआज भ्याइनभ्याई छ ।
तिहार नजिकिएसँगै माटोको पालाको माग बढेपछि गाजुरामसँगै छोरा ताराबहादुर थारु कुमाल र नाति बिनायक थारु कुमालले पाला बनाउन सघाइरहनुभएको छ । अन्य समयको तुलनामा तिहारमा माटाका पाला धेरै बिक्री हुने भएपछि अहिले उहाँको परिवारले अन्य काम छाडेर पाला बनाउने काम गर्दैआएको गाजुराम थारु कुमालले बताउनुभयो ।
‘तिहारका लागि दशैंलगत्तै माटोको पाला बनाउने सोच थियो । तर पानीका कारण सुकाउने समस्या हुँदा बनाउन सकिएन’,उहाँले भन्नुभयो,‘जसले गर्दा अहिले पाला बनाउन हतार भैरहेको छ ।’ तिहारमा प्लाष्टिकका झिलीमिली बत्ती र मैनवत्तीभन्दा माटोको पालामा दियो बाल्नु राम्रो हुनेभएकाले पछिल्लो समय पालाको माग बढेको उहाँको भनाई छ ।
‘अरुबेला खासै विक्री नहुने गरे पनि तिहारको समयमा धेरै विक्रि हुनेगरेको छ’, उहाँले भन्नुभयोे,‘अरू काम छाडेर परिवार नै पाला बनाउने र पकाउने काममा लागेका छौ ।’ उहाँका अनुसार माटोका पालाहरु पछिल्लो समय घरबाटै विक्रि हुने गरेका छन । अडरअनुसार पाला घोराही, भालुवाङसँगै प्युठान र कपिलवस्तुलगायतका ठाउँमा विक्रि हुने गरेका छन् । अन्य समयमा माटोबाट बन्ने गमला, पैना, खुत्रुके, घैंटा लगायतका सामग्री बनाउने गरेपनि अहिले ती सामग्री बनाउन छाडेर पाला मात्रै बनाउने गरेकोे बिनायक थारु कुमाल बताउनुहुन्छ ।
फुर्सदमा पाला बनाउने काम गर्दा पढाइ खर्च जुटिरहेको उहाँले बताउनुभयो । विनायकले गाउँकै विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । उहाँले दैनिक २ सयदेखि २ सय ५० वटासम्म पाला बनाउने बताउनुभयो । ‘बुबा–बाजेले दिनमा चार सयसम्म बनाउनुहुन्छ । तर म भर्खरै सिक्दै गरेकाले २ सय ५० सम्म बनाउन सक्छु’ विनायकले भन्नुभयो, ‘राम्रोसँग सीप सिकेपछि आम्दानीको राम्रो स्रोत हुने आशा छ ।’
उत्पादित माटोका भाँडा र पालाहरु देउखुरी उपत्यकासहित दाङ, प्युठान र कपिलवस्तुका विभिन्न ठाउँमा विक्री हुनेगरेको गाजुरामले बताउनुभयो । प्रतिपाला पाँचदेखि दश रुपियाँमा विक्री हुनेगरेको उहाँको भनाइ छ । उहाँका अनुसार बनाउन सके माटोका भाँडाहरु विक्रीका लागि समस्या छैन । कुनै समय स्टिल तथा प्लाष्टिकका भाँडाहरुले गर्दा माटाका भाँडाहरु विक्रीमा समस्या भएपनि पछिल्लो समय राम्रो विक्री हुँदैआएको कुमालले बताउनुभयो ।
Blog Post Ad Blog Post Ad