Ad Area

बुवा आमाको सम्झना छोरा—बुहारीद्धारा अक्षयकोष स्थापना


दाङ, २९ कार्तिक । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ उमेशमार्ग निवासी गणेश श्रेष्ठ र रजनी श्रेष्ठले बुबाआमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) मा ५१ हजार १ सय ५५ रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयमा सोमवार एक कार्यक्रमको आयोजना गरी अक्षयकोष दाताका तर्फबाट रजनी श्रेष्ठले विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेललाई अक्षयकोष रकमको चेक हस्तान्तरण गरेका हुन् ।

स्वर्गीय सुसुराबुबा सन्तप्रसाद श्रेष्ठ र सासुआमा शान्ता श्रेष्ठको सम्झनामा स्थापित ‘सन्त–शान्ता’ अक्षयकोषबाट प्राप्त हुने व्याज रकमबाट विद्यालयमा अध्ययनरत अभिभावकविहीन गरिब, जेहेनदार विद्यार्थीलाई पढाइमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको रजनी श्रेष्ठले बताइन् । अभिभावकविहीन छात्राहरू पढाइबाट विमुख हुन नपरोस् भनेर आफूहरूले विद्यालयमा अक्षयकोष स्थापना गरिएको बताइन् ।

कोभिड–१९ का कारण २०७८ साल ज्येष्ठ २३ गते सन्तप्रसाद श्रेष्ठको र सोही वर्ष आसार १ गते शान्ता श्रेष्ठको निधन भएको थियो । गरिब तथा जेहेनदार विद्यार्थीलाई सहयोग हुने गरी विद्यालयमा अक्षयकोष स्थापना गरिएकोप्रति दाताहरूलाई विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले धन्यवाद ज्ञापन गरेकी छिन् ।

Blog Post Ad Blog Post Ad