जन्ती बोकेको जीप दुर्घटना, पाँच जनाको मृत्यू
दाङ, १७ मंसिर । धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका २ निवासी ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका ४ निवासी २५ वर्षीय अब्दुल मन्सुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषका एसपी वसन्त रजौरेले जानकारी दिएका छन् ।
इटहरीबाट जन्ती लिएर महोत्तरीको पिपरा गाउँपालिका फर्किँदै गरेको जिप शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको बिरेन्द्र बजारमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जन्ती बोकेको जीपलाई ठक्कर दिने ज १ च १४९६ नम्बरको माछा बोकेको पिकअप भ्यान र चालक इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेकोप्रहरीको भनाई छ । घाइतेहरुको प्रादेशिक अस्पताल धनुषामा उपचार भइरहेको छ भने एक जना महिलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।