Ad Area

पाठेघर क्यान्सर रोकथाम गर्न घोराही उपमहानगरद्वारा निशुल्क स्क्रिनिङ सेवा


घोराही, १९ मंसीर । दाङको घोराही उपमहानगरपालिकाले महिलाहरुको प्रजनन् स्वास्थ्यका लागि जिल्लामै पहिलो पटक पाठेघरको मुखको क्यान्सर जाँच अर्थात स्क्रिनिङ सेवा निशुल्क रुपमा शुरु गरेको छ ।

आईतबार संस्थागत परिवार नियोजन क्लिनिकमा औपचारिक कार्यक्रम गरी यो सेवा शुरु गरिएको हो । वडा नम्बर १४ का वडा अध्यक्ष भानसिंह बुढाको अध्यक्षता तथा नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य एवम् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल निर्देशक रमेश कँडेलको विशिष्ट आतिथ्यमा भएको हो । पाठेघरको मुखको क्यान्सर जाँच सेवा नागरिक स्वस्थ बनाउने अभियान हरेक नागरिक वर्गमा स्वास्थ्य सेवाको पहुँच बिस्तार गरिनु स्थानीय सरकारको नमूना काम भएको वक्ताहरुको भनाई थियो  । महिलाहरुमा बढ्दो पाठेघर क्यान्सर रोकथाम गर्न र यौन  तथा प्रजनन् स्वास्थ्य सेवा  हरेक परिवारसम्म पुर्याउन निशुल्क रुपमा यो सेवा शुरु भएको घोराही उपमहानरपालिकाकी उपप्रमुख हुमा डिसीले जानकारी दिनुभयो ।

पछिल्लो समय  समुदायमा  पाठेघर क्यान्सरको जोखिम उच्च हुँदै गएको हुँदा कोहीपनि महिला उपचार अभावमा समस्या झेल्न नपरोस्, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सेवा र सचेतना सहज रुपमा पाउँदै स्वस्थ रुपमा जीवन बाँच्नु सकून भन्ने उद्देश्यसहित यो सेवा निशुल्क रुपमा शुरु गरेको उपप्रमुख डिसीले बताउनुभयो । ‘महिलाहरुको साझा समस्याका रुपमा अस्वाभाविक रुपमा बढ्दै गएको पाठेघर क्यान्सरको समस्या समाधान गर्न यो अभियान चलाएको हो,’ उहाँले भन्नुभयो, ‘अब कोही पनि महिला उपचार अभावमा अकाल क्यान्सर जस्तो घातक रोगको सिकार हुनुपर्ने छैन, जोकोही महिलाको निशुल्क परिक्षणसँगै उपचार हामी गछौँ ।’

महिलाहरुमा बढ्दो समस्याले समाज विकासमा निकै असर पुग्ने भएकाले आफु जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि महिलाहरुको स्वास्थ्यमा टेवा पुग्ने गरी यो कार्यक्रम थालनी गरेको उपप्रमुख डिसीले बताउनुभयो ।  ‘महिलाको पाठेघरको मुखको क्यान्सर जाँचसहित, यौन तथा प्रजनन स्वास्थ्यका सबै सेवा शुरु भएको छ’ उहाँले भन्नुभयो ‘यसका साथै घोराही उपमहानगरपालिका र वडा नम्बर १४ ले निशुल्क औषधी दिईने व्यवस्था मिलाईएको छ । यो अभियान अब हरेक घरघरमा पुर्याउन जरुरी छ ।’

पाठेघरको मखको क्यान्सर यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारी पाउने भए पछि प्रजनन स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको हुँदा हरेक महिलाले पाठेघरको सुरक्षाका लागि जचाउनुपर्छ भन्ने मान्यताको विकास हुने उपप्रमुख डिसीले बताउनुभयो । असुरक्षित गर्भपतनका कारण पनि पाठेघरको समस्या बढि मात्रामा देखा पर्ने गरेकाका कारण यौन तथा प्रजनन स्वास्थ्य सुधारका लागि यो कार्यक्रम अघि सारेको उहाँले बताउनुभयो ।

नागरिक स्वस्थ भएमात्रै समाज समृद्ध बन्ने र यसले अन्ततः राष्ट समृद्ध बनाउन योगदान  दिने हुँदा यो अभियान सार्थक बनाउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी अघि बढेको नगरप्रमुख चौधरीले बताउनुभयो । सुरक्षित यौन तथा प्रजनन् स्वास्थ्य सेवाका लागि स्थानीय सरकार निरन्तर गम्भीरताका साथ लागि परेको हुँदा स्वस्थ नागरिक बनाउन कामहरु व्यवस्थित बनाउँदै लगेको उहाँको भनाई छ ।

Blog Post Ad

हाललाई यो सेवा प्रत्येक हप्ताको बिहीबारका दिने गरी तालिका बनाइएको छ । तर, महिलाहरुको समस्या र सेवाग्राहीको चाप बढि भएकामा हप्तामा अरु दिन पनि सेवा दिने योजना रहेको घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख नारायणप्रसाद घर्तीले बताउनुभयो । नागरिक स्वस्थ बनाउने यो अभियानले नगरबासी मात्रै नभई सेवा लिन पुग्ने जो कोहीले राहत महसुस गर्ने अपेक्षा गरिएको छ ।

घोराही उपमहानगरपालिकाले ६ जना नसिंङसहितको जनशक्ति व्यवस्थान गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा दिँदै आएको सेवाबाट नियमित पाठेघरको मुखको क्यान्सर जाँचसँगै अरु प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा दिईने भएकाले शहर बजार तथा दूरदराजका सबै महिलाहरु लाभान्वित हुने भएका छन् ।

लैंगिह हिंसा विरुद्धको १६ दिने अभियान स्वरुप संस्थागत परिवार नियोजन क्लिनिकबाट थालिएको यो सेवामा क्यान्सर पोजिटिभ देखिएका कुनै पनि बिरामीलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समन्वय गर्ने व्यवस्था मिलाईएको छ । यदि जटिल प्रकारका कोही बिरामी भेटिए तत्काल जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था आएमा पनि सम्बन्धित अस्पतालमा सिफारिस गरिने व्यवस्था पनि मिलाइएको संस्थागत परिवार नियोजन क्लिनिकका प्रमुख वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक राधा पौडेलले जानकारी दिनुभयो ।

संस्थागत परिवार नियोजन क्लिनिकबाट यसअघि दिईँदै आएको स्वास्थ्य  सेवासँगै अब महिलाहरुको प्रजनन् स्वास्थ्य स्वस्थ बनाउन विशेष भूमिका हुने भएको उहाँले बताउनुभयो । ‘परिवार नियोजन सेवा, गर्भवती जाँच, बच्चाको नियमित खोप, कोरोना खोप, १० हप्तासम्मको सुरक्षित गर्भपतन सेवालगायत परामर्शसहित उपचार सेवा यहाँ पाउन सकिन्छ,’ उहाँले भन्नुभयो ‘जुनसुकै ठाउँका महिलालाई यो सेवा निशुल्क दिने व्यवस्था मिलाएको छ ।’

यसरीसहज रुपमा सेवा नपाउँदा महिलाहरुलाई शारीरिक तथा मानसिक समस्या झेल्नुपर्ने बाध्यता थियो । ‘आफ्ना समस्याका बारेमा भन्न नसकेकाहरुले यो ठाउँमा आएर खुल्न थालेका छन् । घरमा आफुले खेपेको हिंसा र दवाव भन्न सक्ने भएका छन्,’ संस्थागत परिवार नियोजन क्लिनिकका प्रमुख वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक पौडेलले भन्नुभयो, ‘सहज उपचार पाउन थालेसँगै उपचारमा आउनेहरुले अपनत्व महसुस गरेका छन् । महिलाहरुमा आत्मविश्वास जगाउन तथा दम्पतिका बीचमा प्रजनन् स्वास्थ्यको महत्व बुझाउन  पनि सजिलो भएको छ ।’

आईतबार पहिलो दिन घोराहीसहित जिल्लाभरका ५० जनाभन्दा बढीले  यो सेवा लिएका छन् । जसमा ५ जनामा पाठेघरको मुखको क्यान्सर पोजिटिभको आशंका गरिएको छ । घोराही उपमहानगरपालिकाभित्रका वडा नम्बर १२, १४  र १८ का ३३, ३६ र २५ वर्षका महिलाहरुको परिक्षण गर्दा पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक पौडेलले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad