Ad Area

रासायनिक मलको असन्तुलित प्रयोगले उर्वरा शक्तिमा ह्रास


घोराही,१९ मंसिर । दाङमा रासायनिक मलको असन्तुलित प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याउने काम गरिहेको छ । माटोको परिक्षण विना खेती गर्ने र असन्तुलित रुपमा रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास हुँदै गएको कृषि विज्ञ बताउँछन् ।

मलको असन्तुलित प्रयोगले नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा माटोमा कम देखिने र उत्पादनमा ह्रास ल्याउने काम गरिरहेको कृषि ज्ञान केन्द्र घोराहीका कृषि अधिकृत देवा महरा बताउनुहुन्छ । कृषि उत्पादन बढाउने उद्देश्यले किसानहरुले युरिया, डिएपीलगायतको रासायनिक मलको अत्यधिक प्रयोग गर्ने र यसले बर्षेनी माटोको उर्वरा शक्तिमा कमी ल्याउने काम गरिरहेको उहाँको भनाई छ ।

जिल्लामा किसानले धान, मकै, तोरी, मसुरो, गहुँलगायतका तरकारी बालीको उत्पादन बढाउनका लागि युरिया, डिएपीलगायतको मलसँगै किटनासक औषधी बढी प्रयोग गर्ने गरेका छन् । किसानले प्राङगारिक मलका रुपमा गाईवस्तुको गोबरसँगै केही उद्योगहरुले उत्पादन गरेको प्राङगारिक मलको प्रयोग गर्ने गरेपनि अधिकांस किसानहरुले रासायनिक मलको प्रयोग गर्ने गरेका छन् । जसले गर्दा माटोलाई चाहिने आवश्यक पर्ने तत्व परिपूर्ति हुन नसक्दा माटोको उर्वराशक्ति क्षीण बन्दै गरेको कृषि ज्ञान केन्द्र घोराहीमा माटो विज्ञका रुपमा काम गर्दै आउनुभएकी कृषि अधिकृत महरा बताउनुहुन्छ ।

‘जिल्लामा केही किसानले प्राङगरिक मलको प्रयोग गर्ने गरेपनि अधिकांस किसानले रासायनिक मलको प्रयोग गर्ने गरेका छन्’,कृषि अधिकृत महराले भन्नुभयो,‘जसले गर्दा माटोको उर्वरा शक्तिमा बर्षेनी कमी आइरहेको छ ।’ तत्कालिन जिल्ला कृषि विकास कार्यालय हुँदा २०५७ सालमा दाङमा माटो परिक्षणका लागि मिनी ल्याव स्थापना भएको थियो । ल्याव स्थापनासँगै कार्यालयमा माटो विज्ञको दरवन्दी रहेको थियो ।

तर संघीयता लागुसँगै कर्मचारी समायोजनका क्रममा माटो विज्ञको दरवन्दी कटौती गरेपछि कृषि ज्ञान केन्द्र माटो विज्ञ विहिनसँगै बर्षेनी हुने माटो परिक्षणमा समेत कमी आएको अधिकृत महराको भनाई रहेको छ । ‘कृषि विकास समिति हुँदा माटो परिक्षणका लागि प्रत्येक बर्ष शिविर हुने गरेको थियो’,उहाँले भन्नुभयो,‘अहिले कोही किसानले कार्यालयमा माटो ल्याएर आए मात्रै परिक्षण हुन्छ । माटो परिक्षणका लागि गाउँमा शिविर हुन सकेका छैनन् ।’

उहाँका अनुसार कार्यालयमा माटो विज्ञको व्यवस्था हुँदा बार्षिक रुपमा करिव १२ सयसम्मको माटो परिक्षण हुने गरेपनि पछिल्लो समय बार्षिक रुपमा १ सय ५० जनासम्म किसानले ल्याएको माटो परिक्षण हुने गरेको छ । जिल्लामा माटो परिक्षण गरेर कृषि व्यवसाय गर्नेभन्दापनि कृषि व्यवसायमा समस्या देखिएपछि मात्रै परिक्षणका लागि आउनेहरु किसानहरु रहेको उहाँले बताउनुभयो ।

Blog Post Ad

‘जिल्लामा अहिलेपनि माटो परिक्षण गरेर कृषि व्यवसाय गर्नुपर्छ भन्ने किसानमा ज्ञान छैन’,उहाँले भन्नुभयो,‘जसले गर्दा धेरै किसानहरुको बालीमा समस्या देखिने गरेको छ ।’ माटो परिक्षणका क्रममा रासायनिक मलको प्रयोगका कारण नाइट्रोजन, फस्फोरस र पोटासकलगायतका तत्वमा ह्राउन आएको देखिने गरेको कृषि अधिकृत महराले बताउनुभयो ।

जिल्लाको ६९ हजार ९ सय ५० हेक्टर खेती योग्य जमिन मध्य ६५ हजार ९ सय ८० हेक्टर जमिनमा खेती हुने गरेको छ । जसमा ५८ हजार ६ सय ६७ हेक्टरमा सिचाईको व्यवस्था भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad