दाङ,२१ मंसिर । दाङको घोराहीमा नवौं राष्ट्रिय खेलकुदका विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । असोजको २८ गतेदेखि कार्तिकको ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर बिजेता खेलाडीहरुलाई घोराही उपमहानगरपालिका–१५ ले बुधवार एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेयको अध्यक्षता तथा नेपाली कांग्रेसका लुम्विनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घोराही–१५ घरभई नेपाली सेनाबाट सहभागी भएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २ स्वर्ण जित्ने नेपाली सेनामा कार्यरत आईटिएफ तेक्वान्दोका खेलाडी लिलाधर बस्नेत, दाङ जिल्ला अन्तर्राष्ट्रिय आईटिएफ तेक्वान्दो संघका खेलाडीहरु अर्जुन नेपाली, सन्तोस बुढामगर र संन्जिता पुनमगरसहित टिम प्रशिक्षक भीमबहादुर थापालाई खादा र सम्मानपत्रले सम्मान गरिएको छ ।बाग्लुङ जिल्लाको बांग्लुङ नगरपालिकामा भएको प्रतियोगितामा खेलाडी बस्नेतले ६५–७० तौल समूहको एकल स्पाइरिङ र टिम स्पाइरिङबाट गरेर दुई स्वर्ण जितेका हुन । त्यसैगरी पुरुषतर्फ ५१–५५ तौल समूहको खेलमा अर्जुन नेपाली, ४६–५० तौल समूहको खेलमा सन्तोष बुढामगर र महिलातर्फ ६५ केजी प्लसको खेलमा लुम्विनी प्रदेशबाट सहभागी खेलाडीहरुले काश्य पदक जितेका थिए । कार्यक्रममा टिमलाई पदक जिताउन सफल खेलाडी तथा प्रशिक्षक भीमबहादुर थापालाई समेत सम्मान गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले राष्ट्रका गहनाका रुपमा रहेका खेलाडीहरुले जिल्लासँगै अन्तर्राष्ट्रिय क्षेत्रमा नाम र दाम कमाउने गरि खेल क्षेत्रमा अघि बढ्न आग्रह गरेका थिए । खेलकुद क्षेत्रमा दाङ पछाडी परेको भन्दै प्रमुख अतिथि पाण्डेयले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि सवैको सहयोग आवश्यक रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण वडा सदस्य माधव श्रेष्ठले गरेका थिए ।