Ad Area

घोराहीमा पुस २० गतेबाट मेयर कप फुटबल हुने


घोराही, २ पुस ।  घोराही उपमहानगरपालिका स्तरीय मेयर कप फुटबल तथा उपमेयर भलिबल प्रतियोगिता पुस २० गतेबाट हुने भएको छ । खेल क्षेत्रको विकास तथा खेलाडी उत्पादनका लागि स्थानीय सरकारले संचालन गर्दै आएको प्रतियोगितामा पालिकाभरका १९ वटै वटाबाट स्थानीय खेलाडीले भाग लिँदै आएका छन् ।

यो वर्ष लिग कम नकआउट चरणमा फुटबल खेलाउने निर्णय भएको घोराही उपमहानगरपालिकाका प्रवक्ता एवम् सामाजिक विकास समिति संयोजक राममणि पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार, आगामी पुस १५ गतेसम्म वडाबाट प्रतियोगितामा भाग लिने खेलाडीको सूचीकरण पालिकाको खेलकुद शाखामा गरिसक्न समय तोकिएको छ ।

विगत वर्षहरुमा वडा कार्यालयले सिफारिस गरेको आधारमा खेलाडीलाई खेलमा मान्यता दिएकोमा यो पटक वडाले गरेको सिफारिसले मान्यता नपाउने भएको छ । खेलमा भाग लिने खेलाडीको खेलाडीको जन्मदर्ता, नागरिकता प्रमाण पत्र, बसाईसराई आदि पहिचान खुल्ने विवरणका आधार खेलाडीलाई सहभागी गराईने नियम बनाइएको उहाँले बताउनुभयो ।

प्रतियोगिता संचालन गर्न २० जना प्राविधिक टीम नियुक्त गरिने भएको छ । प्रतियोगिताका लागि खेल मैदानको तय अझै भएको छैन । उक्त दिन उपप्रमुख भलिबल प्रतियोगिता पनि उदघाटन हुने भएको छ । विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगितामा विद्यालयले सहभागीता जनाउँदै आएका छन् ।

यसैबीच, घोराही उपमहानगरले खेल क्षेत्रको विकासका लागि नगर स्तरीय खेलकुद विकास समिति गठन गर्ने तयारी गरेको छ । नगर प्रवक्ता पाण्डेका अनुसार, विगतका अभ्यासले खेलकुदका कार्यक्रम गर्दा विभिन्न खालमा समस्या व्यहोर्नु परेको तथा एकीकृत रुपमा खेलकुदको विकासका लागि काम गर्ने ठोस आधार नबनेको हुँदा नगर स्तरीय खेलकुद विकास समिति गठन गर्दै अघि बढ्ने तयारी भएको छ । यसका लागि खेलकुद विकास कार्यविधि बनाउँदै खेलकुद क्षेत्रमा अनुभव प्राप्त स्थानीयलाई समितिमा आवद्ध गराईने उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad