Ad Area

टरिगाउँ विमानस्थलमा सातामा ५ दिन उडान हुने


तुलसीपुर,३ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब साताको पाँच दिन उडान हुने भएको छ ।

यसअघि सातामा तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो ।

पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उनले बताइन् । हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उनले जानकारी दिइन् ।

‘यसअघि इन्धन डिपोबाट इन्धन हाल्न सुरु भएको थिएन, अब यहीबाट इन्धन हाल्न थालिएको छ’, उनले भने, ‘त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ ।’ यात्रुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्ने गरी तयारी गरेको उनको भनाइ छ । साथै निजी हवाई सेवासँग पनि समन्वय गर्ने गरी तयारी रहेको उनले बताए । ‘नियमित भएमा हामीले निजी क्षेत्रका जहाज ल्याउने गरिरहेका छौं’, उनले भनिन्, ‘त्यसमा यात्रुको माग कस्तो आउँछ, त्यसमा भर पर्छ ।’

केही दिनअघिदेखि विमानस्थलमा निर्माण भएको इन्धन डिपोबाट इन्धन भर्न थालिएको हो । अहिले नेपाल वायुसेवा निगमको १९ सिटे ट्वीनअटर जहाजले सेवा दिइरहेको छ ।

कुनै समय दैनिक दुईवटासम्म उडान भर्ने गरिएको भए पनि पछिल्लो समय हवाई सेवा घटेर तीन दिनमात्रै भएको थियो । यसले गर्दा यस क्षेत्रबाट हवाई सेवाका लागि भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । अब यसलाई अन्त्य गर्न थप दुई दिन हवाई सेवा थपिएको छ । यो सँगै अब पाँच दिन हवाई उडान भइरहेको छ ।

Blog Post Ad

धावनमार्ग विस्तारको पहल

विमानस्थलको धावनमार्ग विस्तारका लागि प्रक्रिया अगाडि बढेको छ । अहिलेको धावनमार्ग सात सय ५० मिटर लम्बाइ रहेको भन्दै यसलाई बढाउनका लागि इञ्जीनियरको टोली आएको उपप्रमुख चौधरीले बताइन् । ‘इञ्जीनियर आएर डिपिआरका लागि सबै हेरेर गइसकेको छ’, उनले भनिन् ।

विमानस्थल विस्तारका लागि पहल गर्न तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति गठन गरेको छ । सोही समितिले अहिले आफ्ना गतिविधि अगाडि बढाएको छ ।

Blog Post Ad Blog Post Ad