Ad Area

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू


दाङ, १५ पुस । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनु कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरू गरेको आयोगले जनाएको छ । आयोगले निर्वाचनको मिति तोकेर सरकारलाई जानकारी गराउने छ ।

संवैधानिक व्यवस्थाअनुसार संघीय संसदको गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने हुन्छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेशसभाका सांसदहरु मतदाता रहने छन् ।

निर्वाचनमा संघीय संसद् ३३४ र प्रदेशसभाका सदस्य ५५० मतदाता हुनेछन् । मुलुकको विद्यमान जनसंख्या अनुसार यी पदको निर्वाचनका लागि संघीय संसद्का प्रति सदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ । बहुमतीय प्रणालीबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ गते सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारीमा आयोग छ । संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभई फरक–फरक मितिमा निर्वाचन हुनेछ । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ ।