Ad Area

तीन दिन अत्याधिक चिसो बढ्ने, सर्तकता अपनाउन बिज्ञको सुझाव


दाङ, १७ पुस । आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भएको छ । यी दिनहरुमा बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ ।

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए। उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे ।

उनले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए ।

उनले पश्चिम बंगालमा सिर्जना भएको न्युन चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए। उनले मर्निङवाकमा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए ।

Blog Post Ad

उनले फोक्सोको क्यानसरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीहरुमा समस्या र बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताए। जलवायुविज्ञ उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्युनतम तापक्रम औसत भन्दा तल हुने र वर्षा पनि कम हुने बताए । उनले हिउँदामा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायुप्रदुषणमा पर्ने बताए ।

जलवायुविज्ञ डा. उप्रेतीले अहिले समुन्द्री सतहको तापक्रम औसत भन्दा कम रहेकाले चिसो बढिरहेको बताए । उनले न्युनतम तापक्रम घट्दै जाँदा चिसो र सितलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गरे ।

तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउनु जरूरी रहेको बताए ।

हिउँद महिनामा पानी नपर्दा वायुमण्डलमा प्रदुषण बढ्ने बताए । गत वर्षको यो सिजनमा पानी परिसकेको भए पनि यसवर्ष भने पानी नपरेकाले झनै समस्या सिर्जना हुनसक्ने बताए ।

उनले मौसम अनुकुल नहुँदा पश्चिम तराईका केही जिल्लाहरुमा चिसोका कारण बिरामीहरु बढेको र आगामी दिनमा काठमाडौंसहित पहाडी जिल्लाहरुमा समेत यसको प्रभाव देखिने बताए ।

डा. उप्रेतीले देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर हिँडडुल भरसक नगर्ने वा घरभित्रै व्यायाम गर्ने, न्यानो लुगा लगाउने, पानीमा धेरै बेर नभिज्ने सुझाव दिए ।

उनले बिहान बाहिर हिँड्नै परे मास्कको प्रयोग गर्ने, आगो ताप्दा झ्याल÷ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्ने, गाडी चलाउँदा गति सिमित हुनेगरी चलाउने र फोग लाइटको प्रयोग गर्ने, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

Blog Post Ad Blog Post Ad