Ad Area

गोरखा स्कुल घोराहीले मनायो ‘रजत जयन्ती’, माटो सुहाउँदो शिक्षामा जोड


घोराही, १७ पुस । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् गोरखा ईन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका संरक्षक प्राध्यापक डा. सुरेशराज शर्माले व्यवहारिक शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको गोरखा ईन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलको २५औँ वार्षिकोत्सव एवम् रजत जयन्ती समारोहलाई आईतबार सम्बोधन गर्दै विगतदेखि शिक्षाका नाममा घोकन्ते शिक्षा दिँदै आउँदा व्यवहारिक जीवनमा लागू गर्न कठिन भएको हुँदा अबको शिक्षा देश, माटो सुहाउँदो हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सृष्टिले यहाँ सबै थोक दिएको छ, हावापनी, कला संस्कृति, सबै थोक दिएकोछ । तर यसको सही उपयोग हुन सकेको छैन । यसको सही उपयोगका लागि मानवीय चेतना चाहिएको छ । त्यो चेतना शिक्षाबाट मात्रै सम्भव छ ।’

उहाँले नेपालको शिक्षामा देशको माटो सुहाउँदो परिवेश चाहिएको हुँदा हरेक बालबालिकाहरुलाई यहाँको बस्तुस्थितीका बारेमा चेतनाबोध गराउने गरी शिक्षा दिनुपर्ने बताउनुभयो । ‘शिक्षा मानिसलाई कुन बाटोमा हिँडाउने भन्ने मुल आधार हो, यसका लागि सही शिक्षा दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘सही शिक्षा पाउनेले जीवनमा कहिले पनि फर्केर हेर्नु पर्दैन । सफलताको बाटोमा ऊ अग्रसर हुन्छ ।’

नेपालको वर्तमान शिक्षाको स्तर उकास्न नीजि क्षेत्रबाट ठूलो भूमिका रहेको बताउँदै प्रमुख अतिथिसमेत रहनुभएका प्रा. डा. शर्माले राज्यले गर्नुपर्ने काम नीजि विद्यालयबाट भईरहेको भन्दै प्रशंसा व्यक्त गनुृभयो । ‘यो काम राज्यको हो, तर राज्य एक्लैले सबै गर्न सम्भव नहोला, यसमा नीजि क्षेत्रबाट निकै ठूलो योगदान भएको छ,’ उहाँले भन्नुभयो, ‘यसको सही मुल्यांकन राज्यबाट हुन आवश्यक छ ।’

Blog Post Ad

कार्यक्रम बोल्ने अन्य वक्ताहरुले बिद्यालयले गुणस्तरीयसंगै विश्व बजारमा बिक्ने शिक्षा विद्यार्थीलाई दिनुपर्नेमा जोड दिएका थिए । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले बालबालिकालाई शैक्षिक ज्ञानसगै नैतिक, सामाजिक, चारित्रिक र स्वाभिमान युक्त शिक्षा आवश्यक भएको र अहिले गोर्खा स्कुलले व्यवहारले उत्कृष्टता प्रदर्शन गर्न सफल भएको बताउनुभयो ।

गोरखा ग्रुपका सिइओ नवल जिएमले गुणस्तरीय एवम् समय सुहाउँदो शिक्षा दिइरहेको भन्दै थप गुणस्तर सुधार गर्दै लैजाने प्रयास भईरहेको बताउनुभयो । कार्यक्रममा प्याव्सनका केन्द्रीय सचिव यादव गिरीले ठुलो योगदान, उपलब्धि दिदा पनि राज्यले नीजि विद्यालयलाई हेर्ने दृष्टिकोण सही हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा गोरखा ग्रुपका सदस्य तथा युके संयोजक जंगबहादुर पुन, अभिभावक निर्मल आचार्यलगायतले बोल्नुभएको थियो । कार्यक्रममा लागुऔषध दुव्र्यसनी र यसवाट बचाउने उपायका बारेमा गोरखा आइडियल स्कुल लालमटियाका प्रिन्सिपल बसन्त पुनमगरले जानकारी गराउनुभएको थियो ।

सोअवसरमा गत वर्ष तहगत रुपमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । प्रि प्राईमरीमा प्रिन्सा घर्ती मगर, प्राईमरीमा लियोना मगर, बेसिक लेवलमा गरिमा गुरुङ, एसईई २०७८ मा जिल्ला उत्कृष्ट उत्सव घिमिरेलाई पुरस्कृत गरिएको छ भने कक्षा ११ विज्ञान तर्फ आकाश भण्डारी, कक्षा १२ विज्ञानतर्फ मधुसुदन रिजाल, प्रनिल जैसी, शिशिर बस्नेत तथा व्यवस्थापन तर्फ ११ कक्षामा रिया डाँगी, १२ मा प्रविण चौधरीलाई उत्कृष्ट भएको भन्दै पुरस्कृत गरिएको छ ।

यसैगरी खेलकुद तर्फ कक्षा ११ र १२ मा एथलेटिक्स तर्फ उत्कृष्ट खेलाडीका रुपमा सुरज बस्नेत, बेस्ट एथ्लेट विवश चौधरी, सिमा झाँक्री मगरलाई तथा कक्षा ८, ९ र १० मा उत्कृष्ट हुने बेष्ट एथ्लेटमा निर्मल बुढा र जेनिशा हमाललाई पुरस्कृत गरिएको छ ।

यसैगरी, बेष्ट च्याम्पियन हाउस तर्फ रातो सदनका शिक्षकहरु प्रकाश देवकोटा, प्रभा चौधरी, पोखरराज भण्डारी, प्रकाश पुन, आयुष्मा पाण्डे, यमकला बेल्बासे, पूर्णाकुमारी बुढामगर, देवीराम पुन मगर, सर्मिला पुनमगर र उर्मिला बिष्टलाई पुरस्कृत गरिएको छ भने दीर्घसेवाबाट २५ वर्ष निरन्तर सेवा गरेको भन्दै विद्यालयका नवलसिंह घर्ती मगर, मानसिंह घर्ती मगर, कृष्णा राना मगर, मोतीलाल बुढाथोकीलाई विशेष सम्मान गरिएको छ । वर्ष उत्कृष्ट शिक्षकका रुपमा प्रभा चौधरी, उत्कृष्ट कर्मचारीका रुपमा निमबहादुर चौधरीलाई सम्मान गरिएको छ ।

गोर्खा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको साधारण सभाबाट हालै नियुक्त हुनुभएका गोरखा ईन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलको अध्यक्षका रुपमा विष्णुबहादुर घर्ती मगरलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

रजत जयन्तीका अवसरमा विद्यार्थीहरुले विज्ञानकला प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुति देखाएका थिए । विद्यालयले रजत जयन्तीका अवसरमा साताव्यापी अतिरिक्त कृयाकलापका साथै रक्तदान कार्यक्रम पनि गरेको थियो । विद्यालयका प्रिन्सिपल मानसिङ घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक थम्मन बस्नेत र शोभाकर पन्थीले गर्नुभएको थियो ।

गोर्खा ग्रुपबाट संचालित गोरखा ईनटरनेशनल पब्लिक सेकेन्डरी स्कुलसँगै तुलसीपुर, लमही र लालमटियामा पनि शाखाका रुपमा विद्यालय संचालनमा छन् भने संस्थाले कलेज पनि संचालन गर्दै आएको छ । सबै स्थानमा गरेर ९ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

Blog Post Ad Blog Post Ad