राष्ट्रपति र उपराष्ट्रपति चुनावको आवश्यक प्रक्रिया थाल्न आग्रह
काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको चुनावकाबारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् ।
बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा चुनावका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग आग्रह गरेका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि दलहरुले छलफल गरेर निष्कर्ष निकाल्ने भन्दै उनले आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । आउँदो फागुनमा रिक्त हुने राष्ट्रपति र उपराष्ट्रपति पदका लागि एक महिना अगाडि नै चुनाव गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने तथा प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुको सहभागिता थियो ।