Ad Area

माघ सांस्कृतिक महोत्सवको सबै तयारी पूरा, भव्य समारोहका बीच उद्घाटन हुने


घोराही, २१ पुस । थारु समुदायको महान चाड माघी पर्वको अवसरमा घोराहीमा हुन लागेको माघ सांस्कृतिक महोत्सव २०७९ को सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष एवम् महोत्सव मुल आयोजक समिति संयोजक भुवन चौधरीले शुक्रबार २२ गतेबाट हुन लागेको दुई दिने माघी महोत्सवको सबै तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको छ । ‘थारु अगुवाहरूसँगको छलफलपछि हामीले यो पटक केही नयाँपनका साथ माघी महोत्सव गर्ने तयारी गरेका छौँ’, उहाँले भन्नुभयो, ‘संस्कार, संस्कृति जोगाउन थारु कला संस्कृति प्रस्तुति गरिने भएको छ । नाचगानले मात्रै नहुने भएपछि यो पटक रचनात्मक रुपमा माघी महोत्सव हुनेछ ।’

उहाँका अनुसार, थारु कला संस्कृति, भेषभुषा, परम्परा सबै सकिन लाग्यो भन्ने आरोपलाई तोड्न विगत ८–१० वर्षयता बर्सेनि माघी महोत्सव गर्दै आएकोमा यो पटक अझ पृथक रुपमा कार्यक्रम गर्न लागिएको छ । ‘गाउँगाउँबाट पुराना भेषभुषासहितका रहनसहन झल्काउने नाचगान आउने छ’, उहाँले भन्नुभयो, ‘महोत्सवले थारु कलासंस्कृतिलाई जागृत गराउने छ ।’

नाचगान, आदिवासी खाना, थारु युवा तथा गैर थारुलाई संस्कृतिमा आकर्षित गर्ने गरी जिल्लाका सबै ठाउँबाट ७० बढी सांस्कृतिक कार्यक्रम महोत्सवमा देखाउन लागिएको छ । शुक्रबार झाँकी र्याली बिहान साढे ११ बजेबाट ट्राफिक चोकबाट शुरु हुने र त्यसमा समग्र थारु समुदायले प्रयोग गर्ने सरसामानसहित र्याली हुनेछ ।

त्यसमा महटवाले तुलसीपुर चोकमा बन्ठीमा ल्याएको धान छर्ने कार्यक्रम पनि तय भएको अध्यक्ष चौधरीले बताउनुभयो । विभिन्न उपसमिति गठन गरि तयारी गरिएको हुँदा यो पटक थप व्यवस्थित हुने र थारु तथा गैर थारु समुदायको उल्लेख्य सहभागीता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

यस्तै, महोत्सवमा थारु रहनसहनका खानपान, थारु संग्रहका पुस्तक प्रदर्शनीका रुपमा पनि राखिने भएको छ । घोराही १५ स्थित जिल्ला समवय समितिको परिसरमा रहेको शहिद मन्चमा महोत्सव स्थल बनाइएको छ । सचिव प्रकाश चौधरीले विषय प्रवेश गराएको पत्रकार सम्मेलनको सहजीकरण थारु पत्रकार संघका अध्यक्ष नवीन चौधरीले गर्नुभएको थियो ।

माघी पर्व थारु समुदायको पहिचानको चाड पनि भएकाले यसलाई निकै महत्वका साथ लिने गरिएको छ । थारु बाहुल जिल्लामा अहिले माघीको रौनक छाएको छ । यसलाई थारु समुदायले नयाँ वर्षको रुपमा लिने गर्दछन् ।