Ad Area

दाङमा प्रदेश स्तरीय महिला टी-२० क्रिकेट छनौट प्रतियोगिता हुँदै


घोराही, २१ पुस । राष्ट्रिय स्तरको प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्न प्रधानमन्त्री लुम्बिनी प्रदेश स्तरीय महिला टी-२० क्रिकेट छनौट प्रतियोगिता हुन लागेको छ । दाङ क्रिकेट संघको आयोजनामा यही पुस २३ गतेदेखि २६ गतेसम्म घोराहीमा प्रतियोगिता हुन लागेको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका दाङ, बाँके, रुपन्देही, नवलपरासीको टिमले प्रतिष्पर्धा गर्नेछन् ।

हरेक वर्ष हुँदै आएको प्रतियोगिता अघिल्लो वर्ष रुपन्देहीमा भएको थियो । त्यो बेला रुपन्देही प्रथम भएको थियो । लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवम् छनोट समिति संयोजक कैलाश रोका मगरका अनुसार, महिला क्रिकेट छनोटबाट राम्रा खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । ‘प्रदेशस्तरीय प्रधानमन्त्री महिला क्रिकेट छनोट प्रतियोगिताका लागि चार जिल्लाका खेलाडीहरुको सहभागीता हुँदैछ’, नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेश सदस्य तथा छनोट समिति संयोजक रोकामगरले भन्नुभयो, ‘चार जिल्लाका खेलाडीहरुबाट लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेटको टिम छनोट हुनेछ, यो खेलाडीहरुका लागि राम्रो अवसर पनि हो ।’

दाङमा सरस्वती घर्तीको कप्तानीमा छनोट प्रतियोगितामा प्रतिष्पर्धा गर्न लागेको छ । १४ सदस्यीय महिला टोलीमा उपकप्तान लक्ष्मी चौधरी रहनुभएको छ । यस्तै, सदस्यहरुमा मिना बि.क., कमला जि.एम., मधु डि सी, अनिता चौधरी, ओम कुमारी बि.क., अम्बिका अधिकारी, प्रभा चौधरी, शुशिला भट्टराई, शिरिषा चौधरी, आस्ना चौधरी, शर्मिला रोका मगर, सपना पुन रहनुभएको छ ।

घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा हुने प्रतियोगितामा भाग लिने महिला खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराउने काम भईरहेको क्रिकेट दाङका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो । अध्यक्ष मजगैंयाका अनुसार गुलरियास्थित क्रिकेट मैदानमा पहिलो पटक हुन थालेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा चार जिल्लाबाट १४ जनाको खेलाडी, एक–एक जना कोच र व्यवस्थापक गरी १६ जनाको टीमले प्रत्येक जिल्लाबाट सहभागीता जनाउने भएका छन् ।

यसअघि पनि मंसिर २६ देखि पुसको २ गतेसम्म आठ दिन गरिएको क्लोज क्याम्पबाट छनोट भएकाहरु तथा नियमित खेलाडीले प्रतियोगितामा भाग लिन लागेका क्रिकेट संघ दाङका अध्यक्ष मजगैयाले बताउनुभयो । पुस २३ गते हुने उदघाटन घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले गर्ने तय भएको छ । कार्यक्रममा प्रदेश अध्यक्ष दुर्गा थापाको पनि उपस्थिति रहनेछ ।

प्रदेशको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनेछन् । सात वटा खेल हुने प्रतियोगितामा महिला खेलाडीले आफुलाई खेलमा राम्रो प्रदर्शन गर्न अवसर पाउने छन् । यस्तै, प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले यही पुसको २९ गतेदेखि इटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी प्रदेशको प्रतिनिधित्व गरेर सहभागी हुनेछन् ।

प्रदेशस्तरीय प्रधानमन्त्री महिला क्रिकेट छनोट प्रतियोगिताको तयारी अन्तिम चयरणमा पुगेको दाङ क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिनुभयो । सचिव केसीका अनुसार प्रतियोगिताका लागि पिच निर्माण, ग्राउण्ड सरसफलाईलगायतका सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पुगेको छ ।