Ad Area

हाेलेरीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न


हाेलेरी, २२ पुस । रोल्पाको होलेरीमा महिलाहरुका लागि निशुल्क एकीकृत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा आज स्वास्थ्य शिविर गरिएको हो ।

नेपाल परिवार नियोजन संघ दाङ शाखाको प्राविधिक सहयोग तथा रुन्टीगढी गाउँपालिकाको समन्वय एवम् ग्लोबल आईएमई बैंकको आर्थिक सहयोगमा निशुल्क प्रजनन् स्वास्थ्य शिविर गरिएको हो ।

परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य ईश्वरी जिएमको प्रमुख आतिथ्यमा कार्यक्रम गरि शिविर संचालन गरिएको हो । शिविरमा रुन्टीगढी गाउँपालिका, त्रिवेणी गाउँपालिकालगायत छिमेकी पालिकाका नागरिकले सेवा लिएका छन् । शिविरमा ८१ जनाले निशुल्क सेवा लिएका छन् । उपचारमा परिवार नियोजन संघका डा. अमित लाम्गादे, सिनियर स्टमफ नर्स प्रभा केसी, सिनियर अनमी चिनी श्रेष्ठ, सन्ध्या गौतम, आशा शर्मा, भरोसा गिरी तथा प्राथमिक स्वास्थ्य केन्द्रकि मेडिकल अधिकृत डा. एकता गिरीसहितको टोली खटिएको थियो ।

सो अवसरमा, प्रतिनिधिसभा सदस्य जिएमले गाउँमा महिलाहरुमा प्रजनन् स्वास्थ्यको समस्या बिकराल रहेकाले यसप्रकारको स्वास्थ्य सेवा निरन्तर रुपमा हुनुपर्ने बताउनुभयो । महिलाहरु रोग लुकाएर बस्दा अकाल मृत्युको मुखमा पुग्ने अवस्था अन्त्यका लागि सरोकार सबैको भुमिका हुनुपर्ने तथा व्यक्ति स्वयम् पनि सचेत हुनुपर्ने बताउनुभयो ।

रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले स्वस्थ नागरिक भएमात्रै समाज समृद्ध हुने हुँदा स्वास्थ्यमा पालिकाले ध्यान दिएको बताउनुभयो । गाउँ बस्तीमा स्वास्थ्य सेवा पुर्याउन पालिकाले थालेको अभियानलाई सहयोगी संस्थाहरुबाट साथ मिलेको बताउनुभयो । कार्यक्रममा पालिका स्वास्थ्य संयोजक गणेश बुढाले दुरदराजमा स्वास्थ्य सेवा पहुँच बढाउन यस प्रकारको शिविर निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

महिलाहरुमा बढी मात्रामा देखिएको प्रजनन स्वास्थ्यलाई समाधान गर्न स्वास्थ्य उपचारसँगै समुदाय स्तरमा निरन्तर सचेतना बढाउन जरुरी रहेको बताउनुभयो ।

ग्लोबल आईएमई बैंक होलेरी शाखा प्रमुख हिमलाल पौडेलले बैंकको १६ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य शिविरमा सहयोग गरेको बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र संचालक समिति अध्यक्ष चेतलाल खत्रीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण बैंकका कर्मचारी धनप्रसाद घर्तीले गर्नुभएको थियो ।