Ad Area

महिला क्रिकेट छनौट खेलमा दाङ र रुपन्देही अपराजित


घोराही, २४ पुस । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालमा जारी प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता–२०७९ अन्तरगत आईतबार भएको खेलमा पनि दाङ र रुपन्देहीले दोश्रो जीत निकालेका छन् । आईतबार भएको खेलमा दाङले नवलपरासीलाई हराएको छ भने रुपन्देहीले बाँकेलाई पराजित गरेको छ ।

आईतबार बिहान भएको खेलमा दाङको टीमले नवलपरासीलाई ७६ रनले पराजित गरेको हो । नवलपरासीले टस जितेर फिल्डिङ रोज्दै दाङलाई व्याटिङको निम्तो दिएपछि मैदानमा उत्रिएको दाङले निर्धारित २० ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय ५६ रनको योगफल बनाएको थियो । नवलपरासीले अतिरिक्त ५३ रन दिएपछि योगफल उच्च बनेको हो । दाङका लागि ओपनर लक्ष्मी चौधरीले ६ चौकाको मद्दतमा २८ बल खेलेर ३८ रन बनाउँदै विपना परियारको बलमा क्याच आउट हुनुभयो ।

यसैगरी, कमला जिएमले ४६ बलमा २८ रन बनाएर रन आउट हुँदा त्यसपछि क्रिजमा आउनुभएकी दाङकी कप्तान सरस्वती जिएमले पारी सम्हाल्दै २४ रनको व्यक्तिगत योगफल बनाउन सफल हुनुभयो । उहाँले ४० बल खेल्दै २४ रन बनाउँदा मधु डिसीले १४ बलमा १३ रनको योगदान दिनुभयो । खेलको नवौँ ओभरमा ७६ रन बनाएको बेला पहिलो विकेट गुमाएको दाङले व्याटबाट १ सय ३ रन बनाउँदा अरु अतिरिक्त रुपमा पाएको हो ।

नवलपरासीका लागि विपना परियारको नाममा १ विकेट रह्यो । कप्तान सरस्वती पुन बाहेक अरु खेलाडीले किफायती बलिङ गर्न नसक्दा नवलपरासीले धेरै रन खर्चेको हो । १ सय ५७ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको नवलपरासीले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्रै बनायो । दोश्रोे ओभरको पाँचौँ बलमा सर्मिला रोकाको बलिङमा नवलपरासीकी विष्णु तिवारी बोल्ड आउट भएपछि दाङले खेललाई दबावमा पारेको थियो । तेश्रो ओभरको चौथो बलमा कमला जिएमको बलमा शीतल भण्डारी बोल्ड हुँदै शुन्य रनमा पेभेलियन फर्किन बाध्य हुनुभयो ।

नवलपरासीका लागि कप्तान सरस्वती पुनले ३७ बलमा अविजित २६ रनको योगदान दिएपनि जीतका लागि पर्याप्त हुन सकेन । यस्तै, अनिता चौधरीको बलमा एलबीडब्ल्यु आउट हुनुभएकी विपना परियारले २२ रन, सुम्निमा नेपालीले ३ र वन्दना विश्वकर्माले १ रन बनाउनु बाहेक अरु खेलाडीले खाता खोल्न सकेनन् । खेलको १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै नवलपरासीले ८० रन मात्रै बनायो । जसमा दाङले २५ रन अतिरिक्त खर्चेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएकी दाङकी कमला जिएम प्लेयर अफ द म्याच हुनुभयो ।
यसअघि शनिबार भएको खेलमा बाँकेलाई हराएको दाङले आईतबार भएको खेलमा नवलपरासीलाई हराएको हो । नवलपरासीले लगातार दुई खेलमा हार व्यहोरेको छ ।

यसैगरी, आईतबार दिउँसो भएको अर्को खेलमा रुपन्देहीको टीम पाँच विकेटले विजयी भएको छ । टस जितेर पहिले व्याटिङ गरेको बाँकेले सम्मानजनक योगफल बनाएपनि जित निकाल्न सकेन । बाँकेका लागि शोभा शाहीले ५० बलमा ३४, रन्जु श्रेष्ठले ४१ बलमा २९, कप्तान गीता गोसाईले ९ बलमा १० रन बनाउनु बाहेक अरु खेलाडीले सम्झन लायक प्रदर्शन गरेनन् ।

Blog Post Ad

१५ दशमलव २ ओभरमा नवलपरासीकी कप्तान कृतिका मरासिनीको बल मिस भएपछि स्टम्पिङमा परेपछि बाँकैकी ओपनर शोभा शाही आउट भएपछि धर्माराएको थियो । त्यसपछि विकेट पतन भएपछि बाँके ९ विकेट गुमाउँदै ९३ रनमा समेटियो । रुपन्देहीका लागि कबिता खड्काले ह्याट्रिकसहित ४ विकेट लिन सफल हुनभयो । यसैगरी, कृतिका मरासिनी र सुस्मिता भुसालले समान १–१ विकेट लिनुभयो ।
९४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको रुपन्देहीले १८ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।

रुपन्देहीका लागि कृति अधिकारीले ४३ बल खेल्दै अविजित २० रन बनाउँदा आश्मापुलामी मगरले १९ बलमा १६ रनको योगफल बनाउनुभयो । यसैगरी, श्रुति भण्डारीले २७ बलमा १५ रन बनाउँदै गायत्री कश्यपको बलमा रन आउट हुँदा विबाष्ना बिसीको खातामा २ रनको योगदान रह्यो । यस्तै, सुस्मिता भुसालले १ र कप्तान कृतिका मरासिनीले अविजित ३ रन बनाउँदै पाँच विकेटले टीमलाई जित दिलाउनुभयो ।
बाँकेले ३७ रन अतिरिक्त खर्चेको थियो । बाँकेका लागि मनिषा राना, चमेली चौधरी र जिज्ञासा थापाले समान १–१ विकेट लिनुभयो । प्रतियोगितामा ह्याट्रिकसहित ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गर्ने कविता खड्का प्लेयर अफ द म्याच हुनुभयो ।

छनौटप्रतियोगिता अन्तरगत अब सोमबार बिहान रुपन्देही र दाङ तथा दिउँसो बाँके र नवलपरासीबीच खेल हुने प्रतियोगिता आयोजक दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो । छनौट प्रतियोगिताको फाईनल खेल २६ गते हुनेछ । प्रतियोगितामा दाङ र रुपन्देही फाइनलमा खेल्ने निश्चित जस्तै भएको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका दाङ, बाँके, रुपन्देही, नवलपरासीको टिमले प्रतिष्पर्धा गरिरहेका दाङ क्रिकेट संघका अध्यक्ष मजँगैयाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिताका लागि प्रदेशस्तीरय छनोट प्रतियोगितामा प्रदेशका चार जिल्लाका खेलाडीहरु सहभागी भएको नेपाल क्रिकेट संघका लुम्विनी प्रदेश सदस्य एवं छनोट समितिका संयोजक कैलाश रोकामगरले जानकारी दिनुभयो । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले यहि पुसको २९ गतेदेखि इटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी प्रदेशको प्रतिनिधित्व गरेर सहभागी हुने उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad