मिडियामा पहुँच बढाउन थारु युवालाई पत्रकारिता तालिम
घोराही, २५ पुस । डियामा थारु समुदायका पत्रकारको पहुँच बढाउन तथा पूर्ण समावेशी सञ्चारको लक्ष्यलाई सार्थक बनाउन दाङको घोराहीमा थारु समुदायका युवाहरुका लागि ४ दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ । थारु पत्रकार संघ दाङका अध्यक्ष नवीन चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा आज तालिम उद्घाटन गरिएको हो ।
घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको आधारभुत पत्रकारिता तालिममा ४० जनाको सहभागीता रहेको छ ।
तालिम उद्घाटन गर्दै नगरप्रमुख चौधरीले थारु समुदायका युवाहरु पढेलेखेका भए पनि पढाई पश्चात कुन क्षेत्र रोज्ने भन्नेमा अन्यौलता रहेको हुँदा समुदायको उत्थानका लागि पत्रकारिताको आधारभुत ज्ञान हासिल गर्न सकेमा यसले धेरै फाईदा पुग्ने बताउनुभयो । सकारात्मक सोँचका साथ जिम्मेवार नागरिकका रुपमा काम गर्ने वातावरण बनाउन पत्रकारिताको माध्यमबाट गर्न थालिएको प्रयासले सार्थकता पाउने उहाँको विश्वास छ ।
थारु युवाहरुलाई पत्रकारिताको आधारभुत ज्ञान दिन तथा थारु समुदायको उत्थानमा पत्रकारिताका माध्यमबाट मिडियामा पहुँच बढाउन तालिम दिन थालिएको थारु पत्रकार संघ दाङका अध्यक्ष चौधरीले बताउनुभयो । थारु समुदायमा रहेको पछौटेन अन्त्य गर्दै सचेतना फैलाउने उद्देश्य पूरा गर्न थारु समुदायका युवाहरुलाई आधारभुत पत्रकारिता तालिम दिन थालिएको संघले जनाएको छ।
आजदेखि २८ गतेसम्म ४ दिन हुने आधारभुत पत्रकारिता तालिममा पत्रकारिता गर्दा अपनाउनु पर्ने आधारभुत सिद्धान्त र थारु समुदायको उत्थानका विषयमा उठान गरिनुपर्ने विषयका बारेमा प्रशिक्षकले प्रशिक्षण गर्नुहुनेछ । पत्रकारितामा अवसर रहेकाले यसलाई अवसरका रुपमा लिएर पत्रकारिताको सिद्धान्तलाई आत्मसात गरेर मर्यादित पत्रकारितामा जोडिन अन्य वक्ताहरुको अपिल थियो । अवसरमा जोखिम हुने हुँदा संयमित रुपमा काम गर्न सकेमा पत्रकारिताबाट लाभ लिन सकिने प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले बताउनुभयो । जसको सवाल हो, उहीँ समुदायको प्रतिनिधित्व हुने गरि गर्न थालिएको पत्रकारिता तालिमले व्यक्तित्व र नेतृत्व विकासको अवसरका रुपमा लिन उहाँको सुझाव थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, थारु पत्रकार संघका पूर्व केन्द्रीय अध्यक्ष सन्तोष दहित, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, थारु कल्याणकारिणी सभा दाङका सचिव प्रकाश चौधरी, प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डिसी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्य समिति सदस्य विष्णु कुसुमको स्वागत मन्तव्यबाट शुरु भएको उदघाटन समारोहको सहजीकरण कल्पना चौधरीले गर्नुभएको थियो ।
