Ad Area

भारतमा बस दुर्घटना हुँदा ३ नेपाली सहित ४ जनाको मृत्यु


दाङ, २५ पुस । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा तीन जना नेपालीको नागरिकको मृत्यू भएको छ । भने एक जना भारतीय नागरिकको मृत्यू भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका रहेको बताइएको छ । दुर्घटनामा कैलाली टीकापुर नगरपालिका १ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको रहेको पुष्टी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पनि तीन जना नेपाली र एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना यही पुस २३ गते राति करिब १२ बजेतिरको समयमा भएको थियो ।

बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो । भारतमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लागेको हुदा बस दुर्घटना भएको हुन सक्ने अनुमान गरीएको छ यद्यपी दुर्घटनाको कारण भने खुलेको छैन ।