प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट छनौट प्रतियोगितामा बाँकेको सान्त्वना जीत
घोराही, २५ पुस । लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट छनौट प्रतियोगितामा बाँकेले सान्त्वना जीत हासिल गरेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित घोराही क्रिकेट रंगशालामा आज सोमबार भएको समुह चरणको अन्तिम खेलमा बाँकेले नवलपरासीलाई ३ विकेटले पराजित गर्दै सान्त्वना जीत निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नवलपरासीले यसअघिका कमजारी सुधार्दै लयमा ब्याटिङ गरेपनि जीतबिहीन हुँदै घर फर्किएको छ । नवलपरासीका लागि उषा अर्यालले अविजित रहँदै ३४ बलमा ३ चौकासहित २१ रन बनाउनुभयो । यसैगरी, साक्षी भण्डारीले १२ बलमा एक चौकासहित ६, शीतल भण्डारीले १५ बलमा एक चौकासहित १०, विष्णु तिवारीले २६ बलमा १३ रन बनाउनुभयोृ । यसैगरी, कप्तान सरस्वती पुनले १८ बलमा १६ रन बनाउँदा सुम्निमा नेपालीले ११ बलमा ३ रनको योगदान दिनुभयो । निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६९ रन ब्याटबाट बनाएको नवलपरासीले १५ रन अतिरिक्त पाउँदै कुल योगफल ८४ बनायो ।
बाँकेकी गायत्री कश्यप, चमेली चौधरी, जिज्ञासा थापा र कप्तान गीता गोसाईले समान १–१ विकेट लिनुभयो । ८५ रनको विजयी लक्ष्यका साथ क्रिजमा उत्रिएको बाँकेले १५ दशमलव १ ओभरमा ७ विकेट गुमाउँदै सहज जीत निकाल्यो । बाँकेलाई सान्त्वना जीत दिलाउन रन्जु श्रेष्ठले १७ रन बनाउँदा एलिना बर्माले ३३ बलमा अविजित रहँदै १७ रन बनाउनुभयो । चमेली चौधरीले १२, मनिषा रानाले ३, सुस्मिता बजगाई र एलिना चौधरीले १–१ रनको योगदान दिनुभयो ।
पहिलो ओभरको चौथो बलमा जिज्ञासा थापालाई एलबी डब्ल्युको सिकार बनाएको नवलपरासीले लयमा बल फाल्न नसक्दा अन्ततः बाँकेसँग हार ब्यहोर्न बाध्य भयो । नवलपरासीले १५ ओभरमा ३३ रन अतिरिक्त खर्चेको थियो । नवलपरासीका लागि कप्तान सरस्वती पुनले ४ ओभरमा २ मेडन राख्दै ५ रन दिएर ३ विकेट लिनुभयो । विपना विश्वकर्माले ४ ओभरमा १९ रन दिएर २ विकेट लिएपनि अरु बलरले सम्झन लायक दर्शन गरेनन् ।
आजको खेलमा १२ रन बनाउँदै महत्वपूर्ण एक विकेट लिनुभएकी बाँकेकी चमेली चौधरी प्लेयर अफ द म्याच हुनुभयो । जारी छनौट प्रतियोगितामा बाँके यसअघि दाङसँग १० बिकेट र रुपन्देहीसँग पाँच विकेटले पराजित भएको थियो भने नवलपरासी ३ वटै खेलमा पराजित भएको छ । प्रतियोगिता अन्तरगत सोमबार दोश्रो खेलमा दाङ र रुपन्देहीबीच खेल भईरहेको छ ।
यी दुई टीमले भोलि मंगलबार फाईनल खेल खेल्नेछन् । जारी प्रतियोगितामा दाङ, बाँके, रुपन्देही र नवलपरासी गरी चार वटा जिल्लाको सहभागीता रहेको छ । प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट खेलाडी छनौट गरी यही पुस २९ गतेबाट ईटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी गराईने छ । उक्त प्रतियोगितामा विभागीय टीम एपीएफसहित सात वटै प्रदेशको सहभागीता रहनेछ ।
