Ad Area

दाङद्वारा रुपन्देही ५ विकेटले पराजित, भोलि फाईनलमा दुवै टीम भिड्ने


घोराही, २५ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट छनौट प्रतियोगिता २०७९ अन्तर्गत सोमबार भएको समुह चरणको अन्तिम खेलमा दाङले रुपन्देहीलाई ५ विकेटले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा जारी छनौट खेल अन्तरगत समुह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले दाङलाई ७४ रनको विजयी लक्ष्य दिएको थियो । ७४ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको दाङले १७ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेर जारी प्रतियोगितामा अपराजित रहेको छ ।

दाङका लागि लक्ष्मी चौधरीले १९ रनको योगदान दिनुभयो । यस्तै मिना बिकले ११ रन बनाउनुभयो । कप्तान सरस्वती जिएम शुन्य रनमा बोल्ड भएपनि मधु डिसीले ६ रन बनाएर आउट हुँदा अनिता चौधरी र सर्मिला रोका मगरले अविजित रहँदै व्यक्तिगत ५ र ६ रनका साथ टीमलाई जीत दिलाउनुभयो । दाङले ब्याटिङबाट ५६ रन र अतिरिक्त स्वरुप १८ रन गरि ७४ रन बनायो ।

रुपन्देहीका लागि कप्तान कृतिका मरासिनीले ४ ओभरमा १ मेडन राखी ७ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै, कविता खड्काले ३ दशमलव ४ ओभरमा २१ रन खर्चेर २ विकेट हात पार्नुभयो भने सुस्मिता भुसालले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिनुभयो ।

यसअघि ब्याटिङ गरेको रुपन्देहीले सबै विकेटको क्षतिमा ७३ रन बनाएको थियो । तेश्रो ओभरको दोश्रो बलमा कमला जिएमको बलमा बोल्ड आउट हुँदै २ रन बनाएर रुपन्देहीकी विभास्ना बिसी पेभेलियन फर्केपछि हरेक ओभरमा विकेट पतन भएको थियो । रुपन्देहीका ३ खेलाडी बोल्ड हुँदा ३ खेलाडी एलबीडब्ल्युको सिकार भएका थिए ।

रुपन्देहीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सन्ध्या चापागाईंले ९, सुस्मिता भुसालले ८, श्रुति बुढाथोकीले ७, आँचल मगर र सरु तिवारीले समान ६–६ रन बनाउँदा कप्तान कृतिका मरासिनी र कृति अधिकारीले समान ५ रनको योगदान दिनुभयो । आश्मा पुलामी मगर र कविता खड्काले समान ३ रन बनाउँदा कृति सेनले २ रन बनाउनुभयो । रुपन्देहीले ब्याटबाट ५६ रन बनाउँदा अतिरिक्त १७ रन पाउँदै ७३ रनको योगफल बनाएको थियो ।

बलिङतर्फ दाङकी कमला जिएमले ४ ओभरमा ११ रन दिएर २ विकेट लिँदा मधु डिसीले ४ ओभरमा २ मेडन राख्दै ७ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै शर्मिला रोका, अनिता चौधरी र मिना बिकले समान १–१ विकेट लिनुभयो । खेलमा दाङकी मधु डिसी प्लेयर अफ द म्याच हुनुभयो ।

यसअघि सोमबार बिहान भएको प्रतियोगितामा बाँकेले सान्त्वना जीत हासिल गरेको छ । समुह चरणको अन्तिम खेलमा बाँकेले नवलपरासीलाई ३ विकेटले पराजित गर्दै सान्त्वना जीत निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नवलपरासीले यसअघिका कमजारी सुधार्दै लयमा ब्याटिङ गरेपनि जीतबिहीन हुँदै घर फर्किएको छ ।

अब फाईनलमा दाङ र रुपन्देहीबीच मंगलबार फाईनल खेल हुनेछ । जारी प्रतियोगितामा दाङ, बाँके, रुपन्देही र नवलपरासी गरी चार वटा जिल्लाको सहभागीता रहेको छ । प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट खेलाडी छनौट गरी यही पुस २९ गतेबाट ईटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी गराईने छ । उक्त प्रतियोगितामा विभागीय टीम एपीएफसहित सात वटै प्रदेशको सहभागीता रहनेछ ।