मेयर कपमा वडा नम्बर २, ६ र १४ विजयी, ९ र १६ ले बराबरी खेले
घोराही, २५ पुस । घोराहीमा जारी पालिका स्तरीय पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको छैठौँ दिनमा सोमबार वडा नम्बर २, ६ र १४ विजयी भएका छन् । भने वडा नम्बर ९ र १६ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर खेल मैदानमा जारी प्रतियोगितामा सोमबार भएको खेलमा वडा नम्बर १४ ले ४ लाई ८–० फराकिलो गोल अन्तरले पराजित गर्दै क्वाटर फाईनल प्रवेशको सम्भावना बलियो बनाएको छ । समुह डी मा ४ वटा टीम रहेकाले वडा नम्बर १४ ले यसअघि वडा नम्बर ११ लाई हराउँदै ३ अंक जाडेको थियो भने वडा नम्बर १४ सँग पराजित भएको थियो । सोमबारको जीतसँगै ६ अंकका साथ क्वाटर फाईनलमा स्थान बलियो बनाएको हो । उता, वडा नम्बर १५ को पनि समान ६ अंक छ । उसले अझै एक खेल खेल्न बाँकी छ ।
यस्तै, सोमबार वडा नम्बर २ र १९ बीच भएको खेलमा वडा नम्बर २ ले ६–० को जीत निकालेको छ । वडा नम्बर १९ भने अहिलेसम्म जीत विहीन छ । सोमबार दिउँसो १ बजे भएको खेलमा वडा नम्बर ९ र १६ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्. । समुह ए मा रहेका दुवै टीमले अंक बाँडेसँगै लिग समीकरणमा प्रभाव परेको छ । सो समुहबाट यसअघि आईतबार भएको खेलमा वडा नम्बर १० ले वडा नम्बर ८ लाई ३–० ले जित निकाल्दै ९ अंकका साथ क्वाटर फाईनलमा पुगेको छ ।
यसैगरी सोमबार भएको अन्तिम खेलमा वडा नम्बर ६ ले संघर्षपूर्ण जीत निकालेको छ । समुह बी मा रहेको वडा नम्बर ५ र ६ बीचको खेलमा दोश्रो हाफमा वडा नम्बर ६ ले एक गोल गर्दै जीत हासिल गरेको हो । यो जीतसँगै वडा नम्बर ६ ले ६ अंकका साथ क्वाटर फाईनलको सम्भावना जीवित राखेको छ । उता, सोही समुहमा रहेको साविक विजेता वडा नम्बर १८ लाई दबाव बढेको छ । वडा नम्बर १८ र १७ को समान ४ अंक रहेको छ । यी दुई टीमले अझै दुई खेल खेल्न बाँकी छ भने वडा नम्बर ६ को एक खेल बाँकी छ । उता, वडा नम्बर ५ भने अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।
प्रतियोगिता अन्तरगत अब मंगलबार बिहान सवा ८ बजे वडा नम्बर १९ र १३, सवा १० बजे वडा नम्बर ११ र १५ तथा दिउँसो १ बजे वडा नम्बर १२ र ८, पौने ३ बजे वडा नम्बर ७ र १७ बीच खेल हुने मेयर कप आयोजना संयोजक राममणि पाण्डेले जानकारी दिनुभयो । लिग चरणका खेलहरु आगामी २९ गतेसम्म हुनेछ । त्यसपछि क्वाटर फाईनल खेल हुने उहाँले बताउनुभयो । पालिकाभरका १९ वटै वडाको सहभागीता रहेको प्रतियोगिताको फाईनल खेल भने माघ ५ गते हुनेछ ।