Ad Area

मेयर कपको फाईनलमा वडा नम्बर १३ र १४ भिड्ने, यस्तो छ दुई टीमको विगत


घोराही, ४ माघ । घोराहीमा जारी पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता २०७९ को फाईनलमा वडा नम्बर १३ र १४ भिड्ने भएका छन् । गत पुस २० गतेबाट घोराही १८ नवलपुर फुटबल मैदानमा जारी प्रतियोगितामा बुधबार भएको सेमिफाईनल खेलबाट वडा नम्बर १३ र १४ ले अन्तिम दुईमा स्थान बनाएका हुन् ।

बिहान भएको पहिलो सेमिफाइनलमा वडा नम्बर १० लाई ३–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १४ फाईनलमा पुगेको हो । वडा नम्बर १४ लाई जित दिलाउन बिरेन्द्र बिकले २ र अनमोल डाँगीले १ गोल गर्नुभयो । वडा नम्बर १० का सुरज बस्नेतले १ गोल गर्नुभयो । बिरेन्द्र बिकले खेल सुरु भएको १ मिनेटमै गोल गर्नुभएको थियो ।

सेन्टरबाट पाएको बललाई अघि बढाउँदै प्रहार गरेको बल वडा नम्बर १० का गोलकिपर आकाश बिकले फुस्काएपछि उहाँले बललाई जाली चुमाउनुभएको थियो । लगत्तै आक्रामक बनेको वडा नम्बर १० का सुरज बस्नेतले जवाफी गोल फर्काउँदै १–१ को बराबरीमा ल्याएपनि पहिलो हाफको ४० मिनेटमा बिरेन्द्र बिकले डिबक्सबाट गोल पोष्टमा गरेको प्रहार गोलकिपरले सही नियन्त्रणमा लिन नसक्दा खुट्टाको मुनिबाट गोल हुन पुगेको थियो ।

यस्तै खेलको दोश्रो हाफमा वडा नम्बर १४ का अनमोल डाँगीले डिफेन्स क्लियर गर्दै एक्लै गोल गर्नुभयो । सेन्टरबाट पाएको पासलाई दुई डिफेन्डर क्लियर गरेपछि गोल किपरलाई झुक्याउँदै बिना दबाब थप थोल गर्नुभएको हो । योसँगै वडा नम्बर १४ ले सेमिफाइनलमा ३–१ गोलले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

यस्तै, दिउँसो भएको दोश्रो सेमिफाईनलमा वडा नम्बर १३ ले वडा नम्बर १५ लाई ३–० गोलले हराउँदै उपाधिका लागि वडा नम्बर १४ सँगको भेट पक्का गरेको छ । वडा नम्बर १३ लाई सहज जीत दिलाउन रेवन बुढा, प्रमोद बुढा र कमल बुढाले १–१ गोल गर्नुभयो । खेलमा वडा नम्बर १५ का सुशील बानियाँमा दुई फाउल खेलेपछि रेडकार्ड पाएर मैदान बाहिरिएपछि वडा नम्बर १५ ले १० खेलाडीमा सिमित हुँदै खेलेको थियो ।

खेल शुरुभएको ९ मिनेटमा वडा नम्बर १३ का रेमन बुढाले आकर्षक गोल गर्दै टीमलाई दिलाएको अग्रताले निरन्तरता पाउँदा उपाधि नजिक पुगेको हो । पहिलो हाफको २९औँ मिनेटमा प्रमोद बुढाले पेनाल्टी एरियामा पाएका बललाई गोलमा परिणत गर्नुभयो ।

Blog Post Ad

दाहिने साईडबाट पाएको पासलाई नियन्त्रणमा लिँदै उहाँले डिफेन्डर छलाउँदै बायाँ बार च्यापेर गोल गर्नुभएको थियो । दबावमा खेलेको वडा नम्बर १५ ले राम्रा अवसर पाए पनि गोल गर्न सकेन । दोश्रो हाफको २५औँ मिनेटमा सेन्टरलाईनबाट पाएको पासलाई नियन्त्रणमा लिएर अघि बढ्नुभएका कमल बुढाले गोल किपरलाई पनि छलाएर खाली पोष्टमा सिधै गोल गर्नुभयो ।

खेलको ८५औँ मिनेटमा डि एरियाभन्दा केही बाहिर पाएको फाउलको फाईदा उठाउने मौका पाएको वडा नम्बर १५ ले सदुपयोग गर्न सकेन । त्यति मात्रै नभई वडा नम्बर १५ का सुशील बानियाँले फ्रि किकमार्फत आएको बललाई हेडले गोल गर्नुको साटो हातले बल प्रहार गरेपछि एकै खेलमा दुई पहेँलो कार्ड व्यहोर्दै रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो । १० खेलाडीमा सिमित बनेको वडा नम्बर १५ ले खेलमा लय लिन नसक्दा मेयर कप प्रतियोगिताबाट बाहिरिन पुगेको छ ।

जारी प्रतियोगितामा वडा नम्बर १४ का बिरेन्द्र बिकले सर्वाधिक ११ गोल गरिसक्नुभएको छ । सेमिफाइनलमा दुई गोल गरेसँगै बिकको गोल संख्या ११ पुगेको हो । उहाँले वडा नम्बर १५ लाई १, वडा नम्बर ११ लाई १, वडा नम्बर ४ लाई ७ तथा वडा नम्बर १० लाई २ गोल गर्दै हालसम्म ११ गोल गरिसक्नु भएको छ । जारी प्रतियोगितामा वडा नम्बर १८ का समित पुन मगरले पनि ११ गोल गर्नुभएको छ । यद्यपि वडा नम्बर ११ प्रतियोगिताबाट बाहिरी सकेको छ । यस्तै, वडा नम्बर १३ का प्रमोद बुढाले पनि ८ गोल गर्नुभएको छ ।

१९ वटै वडाको सहभागीता रहेको प्रतियोगितामा वडा नम्बर १३ ले २०७४ सालमा दोश्रो संस्करणको मेयरकप जितेको थियो भने चौथो संस्करणमा वडा नम्बर १८ सँग फाईनलमा पराजित हुन पुगेको थियो ।

उता, वडा नम्बर १४ पनि यसअघि फाईनलमा पराजित भएको थियो । जारी प्रतियोगितामा वडा नम्बर १३ ले २२ गोल गरिसक्दा एक गोल पनि खाएको छैन । वडा नम्बर १४ ले पनि जारी प्रतियोगितामा २० गोल गरेको छ भने ५ गोल खाएको छ । उपाधिका लागि दाबेदार रहेको टीम व्यवस्थापकहरुको दावी छ । लिग चरणहुँदै सेमिफाईनलसम्म आई पुग्दा भएका कमजोरी सुधार्दै फाईनल खेलमा मैदानमा उत्रिने उनीहरुको भनाई छ ।

दुवै टीमबीचको फाईनल खेल बिहीबार दिउँसो १ बजे हुने भएको छ । उपाधि विजेताले नगद १ लाख तथा उपविजेताले ५० हजार नगद सहित शील्ड मेडल पाउनेछ । यस्तै, विधागत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि सम्मान गरिने भएको छ । विजेताहरुलाई माघ १५ गते नगर स्थापना दिवसको अवसरमा एक समारोहका बीच सम्मान गर्ने कार्यक्रम रहेको मेयर कप आयोजना समिति संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाले मेयर कप फुटबल २०७४ सालबाट संचालन गर्दै आएको छ । २०७८ सालमा भने कोरोनाका कारण हुन सकेको थिएन । मेयर कपमा वडा नम्बर १५, १३ ले एकपटक र वडा नम्बर १८ ले दुई पटक जितेको छ ।

Blog Post Ad Blog Post Ad