Ad Area

मेयर कपको उपाधि वडा नम्बर १३ ले उचाल्याे


घोराही, ५ माघ । घोराहीमा भएको पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिता २०७९ को उपाधि वडा नम्बर १३ ले जितेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा बिहीबार भएको फाईनल खेलमा वडा नम्बर १३ ले वडा नम्बर १४ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ ।

वडा नम्बर १३ का लागि दोश्रो हाफको ११औँ मिनेटमा रेवन बुढाले पेनाल्टी एरियाबाट गरेको गोल नै निर्णायक बन्यो । सेन्टरबाट आएको बललाई १३ का खेलाडीले डि बक्समा प्रहार गरेपछि बललाई नियन्त्रणमा लिँदै पोष्टको दायाँबार च्यापेर गरेको प्रहारलाई वडा नम्बर १४ का गोलकिपरले रोक्न डाईभ हानेपनि सम्भव हुन सकेन ।


हजारौँ दर्शक उपस्थित निकै प्रतिष्पर्धात्मक खेलमा वडा नम्बर १४ ले थुप्रै अवसर पाएपनि गोल गर्न नसक्दा उपविजेतामा चित्त बुझाएको छ । वडा नम्बर १४ ले दोश्रो हाफको अन्तिम समयमा लगातार पोष्टमा प्रहार गरेपनि गोलकिपरले बिफल बनाउनुभयो ।

गत पुस २० गतेबाट शुरुभएको मेयर कप फुटबलमा पालिकाभरका १९ वटै वडाको सहभागीता रहेको थियो । लिग चरणमा खेलाईएको खेलमा चार समुह अन्तरगत समुह सी मा रहेको वडा नम्बर १३ ले मेयर कपको दोश्रो पटक उपाधि उचाल्न सफल हुँदा तेश्रो संस्करणमा उपविजेता बनेको वडा नम्बर १४ ले यो पटक पनि उपाधि उचाल्ने सपना पूरा गर्न सकेन ।

यसअघि वडा नम्बर १३ ले २०७४ सालमा दोश्रो संस्करणको मेयर कप जितेको थियो भने चौथो संस्करणको मेयर कपमा वडा नम्बर १८ सँग पराजित हुँदै उपविजेता बनेको थियो ।

यसैबीच, पाँचौँ संस्करणको मेयर कपमा वडा नम्बर १३ ले कुल २३ गोल गर्दा १ गोल पनि नखाएर रेकर्ड कायम गरेको छ । वडा नम्बर १३ का गोलकिपर भीम पुनले यो संस्करणमा निकै उत्कृष्ट प्रदर्शन गर्दै गोल बचाउ गरेपछि वडा नम्बर १३ ले उपाधि चुम्न सफल भएको हो ।

Blog Post Ad

यस्तै, वडा नम्बर १४ का स्ट्राइकर बिरेन्द्र बिकले यस पटकको मेयकपमा सर्वाधिक ११ गोल गर्नुभएको छ । सेमिफाइनलमा दुई गोल गरेसँगै बिकको गोल संख्या ११ पुगेको थियो । फाईनलमा भने गोल हुन सकेन ।

उहाँले लिग चरणदेखि सेमिफाईनलसम्म वडा नम्बर १५ लाई १, वडा नम्बर ११ लाई १, वडा नम्बर ४ लाई ७ तथा वडा नम्बर १० लाई २ गोल गर्दै हालसम्म ११ गोल गर्नुभएको हो । वडा नम्बर १८ का समित पुन मगरले पनि ११ गोल गर्नुभएको छ । यस्तै, वडा नम्बर १३ का प्रमोद बुढाले पनि ८ गोल गर्नुभएको छ ।
फाईनलमा पुग्न वडा नम्बर १३ ले १५ लाई ३–० गोल अन्तरले हराएको थियो भने वडा नम्बर १४ ले १० लाई ३–१ गोल अन्तरले हराएको थियो ।

उपाधि विजेता वडा नम्बर १३ ले नगद १ लाखसहित शील्ड मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता बनेको वडा नम्बर १४ ले ५० हजार नगदसहित शील्ड मेडल र प्रंमाण पत्र पाउने भएको छ ।

यस्तै, विधागत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि सम्मान गरिने भएको छ । विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई माघ १५ गते नगर स्थापना दिवसको अवसरमा एक समारोहका बीच सम्मान गर्ने कार्यक्रम रहेको मेयर कप आयोजना समिति संयोजक एवम् कार्यवाहक नगरप्रमुख राममणि पाण्डेले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाले मेयर कप फुटबल २०७४ सालबाट संचालन गर्दै आएको छ । २०७८ सालमा भने कोरोनाका कारण हुन सकेको थिएन । मेयर कपमा वडा नम्बर १३ र १८ ले दुईपटक र वडा नम्बर १५ ले एक पटक जितेको छ । अब भाेलि शुक्रबारबाट उपमेयर छात्रा भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी भएको घोराही उपमहानगरपालिकाले जनाएको छ । दिउँसो १२ बजेपछि जिल्ला समन्वय समितिको परिसरमा एक समारोहका बीच खेल उदघाटन हुनेभएको छ ।

Blog Post Ad Blog Post Ad