Ad Area

डा. अधिकारीको उपन्यास ‘सत्यहरण’ विमोचन


दाङ, ७ माघ । साहित्यकार डा राजु अधिकारीको उपन्यास ‘सत्यहरण’ को बिमोचन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा शनिवार घोराहीमा भएको एक कार्यक्रममा साहित्यकार डा. अधिकारीको उपन्यास ‘सत्यहरण’ विमोचन गरिएको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ‘समीर’को अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष एवं वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा उपन्यासको बिमोचन गरिएको थियो ।

बिमोचन गरिएको पुस्तकको समिक्षा गर्दै सहित्यकार पुष्कर रिजाल ‘पुष्प’ले उपन्यासले हाम्रो समाजले भोगिरहेको एउटा जल्दोबल्दो समस्यालाई सरल तर सटिक रूपमा चित्रण गरेर पुस्तक बजारमा आएको बताएका थिए ।

पूर्वीय धर्म, संस्किति, सभ्यता र दर्शनमाथि विभिन्न तरिकाले भैरहेका आक्रमणको विषयलाई मूल विषय बनाएको उपन्यासमा लेखकले नेपालको सन्दर्भमा कसले र कसरी यो काम संचालन गरिरहेको छ र यसमा पद, पैसा र अन्य व्यक्तिगत स्वार्थको लागि उच्च ओहदामा बसेका शिक्षित व्यक्तिहरू कसरी प्रयोग भैरहेका छन् भन्ने कुरालाई उजागर गर्ने प्रयास लेखकले गरेको बताएका थिए ।

मूल विषयसँगै लेखकले पुस्तकमा प्रेमलाई पनि स्थान दिएका कारण उपन्यास रोमाञ्चक बनेको समिक्षक रिजालले बताए । समिक्षकका अनुसार उपन्यासका दुई मुख्य पात्र रक्षा र कैलाशको प्रेम उपन्यासको सुरुवातदेखि अन्तसम्म नै प्रेमका अनेक वाधा अवरोध पार गर्दै अगाडि बढ्छ ।

‘स्वैर कल्पना र विज्ञान कथामा कलम चलाउने लेखकले यो उपन्यासमा पनि यी दुवै विधाको थोरै भएपनि प्रयोग गरेका छन्’,समिक्षक रिजालले भने,‘जसले गर्दा उपन्यास झन् रोचक बनेको छ ।’ उपन्यासको मूल आकर्षण चाहिँ यसको रहस्य भएको भन्दै उनले जुन कुरा उपन्यासको अन्तमा मात्र गएर खुल्छ । उपन्यासमा घटेका घटनाहरू कस्ले, किन र कसरी घटाइरहेको छ भन्ने कुरा पुरै उपन्यास नपढी कल्पना गर्न नसकिने रहेको छ ।

Blog Post Ad

उपन्यास बिमोचन कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी, उपन्यासका लेखक डा राजु अधिकारी, प्रकाशक वीरीडको तर्फबाट राजीवधर जोशीलगायतले पुस्तकको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । ‘सत्यहरण’ नेपाल भरीका प्रमुख पुस्तक पसल र अनलाईन मार्फत उपलब्ध हुने र पुस्तकको विद्युतिय संस्करण (इ–बुक) थुप्रै डट कम मा उपलब्ध हुने प्रकाशक वीरीडले जनाएको छ ।

२ सय ८४ पृष्ठको पुस्तकको मूल्य ४७५ तोकिएको छ । परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण परिषद् दाङ शाखाका सचिव प्रकाश केसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad