Ad Area

कांग्रेसले सदनमा प्रतिपक्षको हैसियत गुमायो : एमाले नेता गुरुङ


लमही, ८ माघ । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पार्वत गुरुङले काँग्रेसले प्रतिपक्ष हैसियत गुमाएको बताएका छन् । ‘संसद प्रतिपक्षविहीन हुनु राम्रो संकेत भएन’, प्रेस चौतारी दाङले आईतवार लमहीमा गरेको पत्रकार सम्मेलनमा पुर्वमन्त्री गुरुङले भने, ‘कांग्रेसको अपरिपक्क राजनीतिले मुलुकलाई गलत दिशातर्फ ढकेल्ने प्रयत्न गरेको छ ।

सरकारलाई विश्वासको मत दिएर कांग्रेसले प्रतिपक्षको हैसियत नै गुमाएको छ । यसले राम्रो सन्देश भने दिएको छैन ।’ उनले एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने समेत बताए । सत्तारूढ दलको विचमा भएको सहमति बेगर कांग्रेस वा बाहिरबाट राष्ट्रपति चुनिने विषय हल्ला मात्रै भएको समेत बताए ।

‘सत्तारूढ दलको बीचमा भएको सहमति बेगर कांग्रेस वा बाहिरबाट राष्ट्रपति चुनिने विषय हल्ला मात्रै हो’ नेता गुरुङल भने ‘ सहमति भएको विषयमा अवाफ फैलाउने काम भएको छ । तर त्यसको कुनै अर्थ छैन ।’ उनले कांग्रेसले एमाले र माओवादीको बीचमा अविश्वास सृजना गर्नको लागि चलाएको हल्लामात्रै भएको समेत बताए । ‘ एमालेभन्दा बाहिरबाट आउने व्यक्ति राष्ट्रपति हुँदैन’, उनले भने, ‘कांग्रेसको खेल केही दिनमा आफैँ सकिन्छ।’

चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो । पत्रकार सम्मेलनको सहजिकरण प्रेस चौतारी लुम्बिनी प्रदेश कमिटि सदस्य ओमप्रकाश गुप्ताले गरेका थिए । पत्रकार सम्मेलनमा एमाले केन्द्रिय लेखा आयोग सदस्य रेवतीरमण शर्मा, अनुशासन आयोग सदस्य सरस्वती गौतम, प्रदेश कमिटि सदस्य कुलबहादुर केसी, गंगाराम भट्टराईलगायतको सहभागिता थियो ।

Blog Post Ad Blog Post Ad