शहिद दिवसको अवसरमा हापुर माविमा वक्तृत्वकला
घोराही १६ माघ । शहिद दिवसको अवसरमा हापुर मावि निघुवारमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
हापुर मावि निघुवार जुनियर रेडक्रस सर्कलकी अध्यक्ष जया बस्नेतको अध्यक्षतामा सोमबार आयोजित ‘शहिदहरूप्रति हाम्रो दायित्व’ विषयक वक्तृत्वकला प्रतियोगीतामा कक्षा १२ अध्ययनरत समिक्षा दाहाल, जया बस्नेत र सरस्वती वली क्रमशस् प्रथम, द्वितीय र तृतीय भएका छन् ।
सो अवसरमा, विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार न्यौपाने, हापुर माविका शिक्षक एवम् जुनियर रेडक्रस सर्कलका शिक्षक नायक खिमबहादुर बुढा, निर्णायक मण्डल संयोजक एवम् शिक्षक विन्दु डाँगी पाण्डेलगायतले बोल्नुभएको थियो ।
उहाँहरुले देश र जनताको न्यायका लागि बलिदानी दिएका शहिदहरुको सपना पूरा गर्न हरेक युवाले सकारात्मक विचार स्थापित गर्दै समृद्ध मुलुक बनाउन मन, वचन र कर्मले अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा सहभागीहरुले शहिदको सपना पूरा गर्न हरेक युवाको दायित्व स्मरण गरेका थिए । अधिकार खोज्न सक्ने हरेक नागरिकले न्याय र समानताका लागि आफ्नो दायित्व बोध गर्न सकेमा शहिदहरुको त्यागले देखाएको सपना पूरा हुन सक्ने जिकिर गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा संयोजक विन्दु डाँगी पाण्डेय, सदस्यहरु विमल न्यौपाने र सरला पौडेल गौतम रहनुभएको थियो। कार्यक्रममा शहिदहरुको सम्झना तथा सम्मानमा मौनधारण र शहिदहरुको तस्विरमा माल्यार्पण समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण जुनियर रेडक्रस सर्कलसदस्य नविना डाँगीले गर्नुभएको थियो ।