Ad Area

खुमबहादुर खड्का स्मृति भलिबलमा दंगीशरण र बंगलाचुली जीत विहीन


 घोराही, २२ माघ । घोराहीमा जारी दोश्रो संस्करणको खुमबहादुर खड्का स्मृति अन्तरपालिका पुरुष भलिबल प्रंतियोगिता अन्तरगत लिग चरणको तेश्रो दिन आईतबार भएको खेलमा राजपुर गाउँपालिका, लमही नगरपालिका, शान्तिनगर गाउँपालिका र घोराही उपमहानगरपालिका विजयी भएका छन् । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगितामा तेश्रो दिन बिहान भएको खेलमा राजपुर गाउँपालिकाले बबई गाउँपालिकालाई ३–१ को सेटमा जीत निकाल्यो ।
राजपुरले २५–१७, २२–२५, २५–२२ र २५–१८ को सेटमा जितेको हो । बिहान भएको अर्को खेलमा लमही नगरपालिकाले पनि गढवा गाउँपालिकालाई ३–१ को सेटमा जित्यो । गढवाले पनि दोश्रो सेट जित्दै खेल आफ्नो पक्षमा पार्ने कोशिस गरे पनि लमही सामु कमजोर सावित भयो । जसका कारण २१–२५, २५–२०, १८–२५ र २०–२५ को अंक सहित नतिजा लमहीलाई सुम्प्यो । दिउँसो भएको खेलमा शान्तिनगर गाउँपालिकाले बंगलाचुली गाउँपालिकालाई ३–० को सोझो सेटमा हराएको छ । जारी प्रतियोगितामा बंगलाचुली कमजोर देखिएको छ ।
शान्तिनगरले बंगलाचुलीलाई २५–१२, २५–१७ र २५–२० को सोझो सेटमा हराउँदा आईतबारको अन्तिम खेलमा घोराही उपमहानगरपालिकाले पनि दंगीशरण गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । घोराहीले दंगीशरणलाई २५–१४, २५–२१ र २५–१८ को सोझो सेटमा हराएको हो । घोराही १५ शहिद मन्चमा जारी खेलमा सोमबार पनि लिग चरणका चार वटा खेल हुने प्रतियोगिता आयोजक कमिटी संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।
सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका र राजपुर गाउँपालिका, राप्ती गाउँपालिका र लमही नगरपालिकाबीच खेल हुनेछ भने दिउँसो बबई गाउँपालिका र बंगलाचुली गाउँपालिका र गढवा गाउँपालिका र दंगीशरण गाउँपालिका बीच खेल हुने तालिका रहेको छ । जारी लिगमा साविक विजेता तुलसीपुर, बंगलाचुली, दंगीशरण जीत विहीन छन् भने अरु पालिकाको टीमले जीत निकालेका छन् ।
प्रतियोगिताको विजेताले नगद दुई लाख पच्चीस हजारसहित शील्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख १२ हजार पाँच सय, तेश्रो हुनेले ५६ हजार २ सय ५० र चौथो हुने टीमले २८ हजार १ सय ३२ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । सरकारले राष्ट्रिय खेलका रुपमा घोषणा गरिसकेको भलिबल खेलको विकाससँगै युवाहरुलाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने लक्ष्यका साथ दाङ कांग्रेसले आफ्नै लगानीमा खेलाडीको सबै खर्च व्यहोर्ने गरी प्रतियोगिता आयोजना गर्दै आएको छ । आगामी दिनमा यसको उचित व्यवस्थापनका लागि १ करोडको अक्षयकोष स्थापना गरी प्रतियोगिता आयोजना गर्ने गरी कार्यविधि पनि तयार भईसकेको जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।
Blog Post Ad Blog Post Ad