Ad Area

घोराही, राजपुर, लमही र शान्तिनगर दोश्रो खुमबहादुर भलिबलको सेमिफाईनलमा


घोराही, २५ माघ । पहिलो खेलमा राप्ती गाउँपालिकासँग पराजय व्यहोरेको घोराही उपमहानगरपालिकाको टीमले लिग चरणका अरु तीन वटै खेलमा उत्कृष्ट पुनरागमन गर्दै अन्तिम चारमा प्रवेश गरेसँगै घोराहीमा जारी लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दोश्रो खुमबहादुर खड्का स्मृति अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता २०७९ मा सेमिफाईनल खेल्ने सबै टीमको टुंगो लागेको छ ।

सेमिफाईनलमा घोराही उपमहानगरपालिकासँगै लमही नगरपालिका, शान्तिनगर गाउँपालिका र राजपुर गाउँपालिका प्रवेश गरेका छन् ।नेपाली कांग्रेस दाङको आयोजनामा माघको २० गतेबाट जारी प्रतियोगितामा लिग चरणको अन्तिम खेलमा यसअघि नै सेमिफाईनल प्रवेश गरी सकेको लमही नगरपालिकालाई बुधबार भएको खेलमा हराउँदै घोराही उपमहानगरपालिकाले दाबेदारका रुपमा प्रस्तुत गर्दै सेमिफाईनलमा पुगेको छ ।

लिग चरणको २० औँ खेलमा लमही र घोराही बीच निकै प्रतिष्पर्धात्मक खेल भएको थियो । जसमा घोराहीले लमहीलाई ३–१ को सेटमा हराएको हो । घोराहीले २९–२७, २३–२५, २५–१५ र २५–१८ मा खेल आफ्नो पक्षमा पारेको हो । खेलका क्रममा लमहीले रेफ्रीको निर्णयमा असन्तुष्टी जनाएपछि केहीबेर रोकिएको थियो । यसअघि लिग चरणका तीन खेलमा अपराजित रहेको लमही नगरपालिकाको टीम घोराही उपमहानगरपालिकाको टीमसँग हारेको छ । घोराहीका लागि राष्ट्रिय भलिबल टीमका सदस्यले खेलिरहेका छन् ।

यसैगरी, बुधबार दिउँसो भएको अर्को खेलमा शान्तिनगर गाउँपालिकाले राजपुर गाउँपालिकालाई ३–१ को सेटमा हराएको छ । यद्यपि, दुवै टीम समुह ए बाट विजेता र उपविजेता बन्दै सेमिफाईनमा प्रवेश गरेका छन् । शान्तिनगरले २५–२२, २३–२५, २५–१५ र २५–१८ को सेटमा हराएको हो ।

योसँगै जारी प्रतियोगितामा समुह ए बाट शान्तिनगर गाउँपालिका समुह विजेता र राजपुर गाउँपालिका उपविजेता बनेर सेमिफाईनलमा प्रवेश गरेको छ । समुह बी बाट पनि घोराही उपमहानगरपालिका समुह विजेता र लमही नगरपालिका उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाईनलमा दुवै खेल बिहीबार दिउँसो हुनेछ । जसअनुसार, दिउँसो १ बजे पहिलो सेमिफाईनलमा शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाबीच खेल हुनेछ भने दोश्रो सेमिफाईनलमा घोराही उपमहानगरपालिका र राजपुर गाउँपालिकाबीच खेल हुने प्रतियोगिता संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाईनल खेल माघ २७ गते हुनेछ । त्योभन्दा अघि तेश्रो र चौथो स्थानका लागि २६ गते खेल हुनेछ । जारी प्रतियोगितामा साविक विजेता तुलसीपुर उपमहानगरपालिका र उपविजेता रहेको राप्ती गाउँपालिका बाहिरिएकाले यो पटक नयाँ टीमले उपाधि जित्ने भएको छ ।  प्रतियोगितामा जिल्लाको दशवटै पालिकाको सहभागीता रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद दुई लाख पच्चीस हजारसहित शील्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख १२ हजार पाँच सय, तेश्रो हुनेले ५६ हजार २ सय ५० र चौथो हुने टीमले २८ हजार १ सय ३२ रुपैयाँ पुरस्कार पाउने छन् भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

सरकारले राष्ट्रिय खेलका रुपमा घोषणा गरिसकेको भलिबल खेलको विकाससँगै युवाहरुलाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने लक्ष्यका साथ दाङ कांग्रेसले आफ्नै लगानीमा खेलाडीको सबै खर्च व्यहोर्ने गरी प्रतियोगिता आयोजना गर्दै आएको छ ।